गृहपृष्ठ ४ लाख लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण
४ लाख लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण
- काठमाडौं :भूकम्प प्रभावित जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या ४ लाख नाघेको छ । स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको स्थानीय तहमा उपलव्धता र निजी आवास पुनर्निर्माणमा समयसीमा निर्धारण गरिएका कारणले पनि घर बनाउन शुरु गर्ने लाभग्राहीको सख्यामा तीव्रता आएको प्राधिकरणका प्रवक्ता यमलाल भूसालले बताउनुभयो । मंगलवार अपरान्हसम्मको तथ्याङ्क अनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका मध्ये ४ लाख २ हजार ७ सय ३ लाभग्राहीको नाम दोस्रो किस्ताका लागि प्रमाणीकरण भएको छ । निजी आवास पुनर्निर्माणले गति लिएसँगै १ लाख ५२ हजार १ सय ३० घरको पुनर्निर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्क अनुसार ४ लाख ५३ हजार ६ सय ८३ घरको पुनर्निर्माण भइरहेको छ । भूकम्प अति प्रभावित १४ जिल्ला मध्ये दोलखामा सवैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ भने सवै भन्दा धेरै घर निर्माण भइरहेको जिल्ला सिन्धुपाल्चोक परेको छ । दोलखामा अहिलेसम्म २८ हजार ८ सय ७ घरको पुनर्निर्माण सम्पन्न भएको छ भने ४८ हजार २ सय ७१ घर पुनर्निर्माण भइरहेका छन् । अहिलेसम्मको तथ्याङ्क अनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४सय १५ घरको पुनर्निर्माण भइरहेको छ भने २० हजार ९ सय ७१ घर निर्माण सम्पन्न भइसकेको छ । कुल ७ लाख ६७ हजार ७ सय ५ लाभग्राही सुचिमा रहेकोमा ७ लाख २ हजार ३ सय ९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् । यसैगरी तेस्र्रो किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको संख्या १ लाख ४८ हजार ४ सय ८४ पुगेको भने भने तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको संख्या १ लाख ४० हजार ५ सय ६० पुगेको छ ।
प्रकाशित समय ००:२४ बजे

















