गृहपृष्ठ ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सुरु
‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सुरु
चैत ९ गते बेलकामा आयोजित घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको उद्घाटन गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं ।
बिमामा नेपालीको पहुँच बढाउने उद्देश्यले ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सुरु भएको छ । अभियान अन्तर्गत शनिबार उदयपुरको बेलका नगरपालिकाबाट सुरु गरिएको हो । बिहान सचेतना र्यालीपछि कार्यक्रमको औपचारिक उद्धघाटन गरिएकाे छ । र्यालीमा स्थानीय, विद्यार्थी, अगुवा लगायतको सहभागीता थियो ।

लामो समयदेखि आर्थिक पत्रकारिता गर्दै आएका युवा र केही बिमा विज्ञको सक्रियतामा स्थापित नेप्लिज सेन्टर फर इन्स्योरेन्स एन्ड सोसल सेक्युरिटी (एससिस) ले सातै प्रदेशका विभिन्न स्थानीय तहमा पुगेर ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ सञ्चालन गर्न लागेको हो ।

बिमा सचेतना बढाउने, बिमाको पहुँचबाहिर रहेका नागरिकलाई बिमाको पहुँचमा ल्याउने, बिमालक्षित सरकारी योजनामा सहयोग पुर्याउने र सामाजिक सुरक्षा प्रवर्धन गर्ने उद्देश्यले सुरु गरिएको एनसिसकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताइन् । करिब ५५ हजार जनसंख्या रहेको उक्त नगरपालिकाका बहुसंख्यक नागरिकले बिमा साक्षरताको अभावमा बिमा नगरेको र बिमा कम्पनीका शाखासमेत नभएकाले सोही ठाउँबाट अभियानको उद्घाटन गर्न लागिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उनका अनुसार उद्घाटनसँगै अभियानको पहिलो चरणअन्तर्गत धुनषाको सबैला नगरपालिका, रौतहटको यमुनामाई गाउँपालिका, सप्तरीको सप्तकोशी नगरपालिका, सुनसरीको इनरुवा नगरपालिका, मोरङको कोशी हरैँचा नगरपालिका, झापाको कनकाई नगरपालिका, काभ्रेको पनौती नगरपालिका र धादिङको रि गाउँपालिकामा कार्यक्रम गरिनेछ । कार्यक्रम गर्ने स्थानीय तहमा पुगेर पूर्वअध्ययनपश्चात् प्राथमिकता निर्धारण गरिने उनले बताइन् ।

सबै कार्यक्रम घुम्ती ट्रकमार्फत गरिने छ । नेपालमा बिमा सेवा सुरुवात भएको ६८ वर्षसम्म कुल जनसंख्याको ७ प्रतिशतमात्र नागरिक बिमाको पहुँचमा थिए । दुई वर्षयता १० प्रतिशत वृद्धि भएर पुससम्ममा १७ प्रतिशत पुगेको छ । बिमा समितिमा आएको नयाँ नेतृत्वले गरेका संरचनागत तथा प्रक्रियागत सुधारका कारण बिमाको दायरा दुई वर्षमै १४३ प्रतिशत बढेको हो ।
प्रकाशित समय १३:२५ बजे

















