गृहपृष्ठ १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिँदै
१० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिँदै
स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा ‘फेल’ भएका झण्डै १० हजार शिक्षकलाई सरकारले उपदानसहित बिदाइ गर्ने तयारी थालेको छ । लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित बिदाइ गर्न २५ करोड रुपैयाँ छुट्याइएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलका अनुसार २०७६ असार मसान्तसम्म अस्थायी शिक्षकलाई बिदाइ गर्ने गरी तयारी अघि बढाइएको हो ।
‘लिखित परीक्षामा असफल भएका शिक्षकलाई उपदानसहित बिदाइ गर्ने तयारी अघि बढाइएको छ,’ उनले न्युज कारोबारसँग भने, ‘त्यसका लागि पाँच अर्ब २५ करोड रुपैयाँ छुट्याइएको छ र आगामी असार मसान्तपछि उहाँहरुलाई बिदाइ गरिने छ ।’
अहिले मुलकभर सामुदायिक विद्यालयमा ४७ हजार १ सय २ शिक्षक अपुग छन् । सरकारले केही समयअघि गठन गरेको कार्यदलले अपुग शिक्षकको तथ्यांक संकलन गरेको थियो । अपुग शिक्षकको तथ्याङ्कसहितको प्रतिवेदन कार्यदलले मन्त्रिपरिषद्मा बुझाइसकेको छ । शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार भने ३४ हजार ४०८ शिक्षक अपुग देखिएको महानिर्देक पौडेलले जानकारी दिए ।
प्रकाशित समय १३:१३ बजे

















