गृहपृष्ठ एडिविका उपाध्यक्ष नेपालमा, नेपाललाई थप सहयोग गर्ने आस्वासन

एडिविका उपाध्यक्ष नेपालमा, नेपाललाई थप सहयोग गर्ने आस्वासन

लगानी सम्मेलन २०१९ मा सहभागी हुन आएका एसियाली विकास बैंकका उपाध्यक्ष चेन चेनले अर्थमन्त्री डा.युवराज खतिवडासँग बिहीबार शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालले संघीयता कार्यान्वयनका सन्दर्भमा वर्तमान सरकारले एक वर्षमा गरेका कार्यहरुबारे जानकारी दिंदै नेपालको आर्थिक सामाजिक विकासमा बैंकले गरेको सहयोगको लागि धन्यवाद दिए । उर्जा, सडक सञ्जालको विकास, पर्यटन, कृषिलगायतका क्षेत्रमा थप सहायता परिचालन गर्ने विषयमासमेत उनीहरुबीच छलफल भएको थियो ।
उपाध्यक्ष चेनले निजी क्षेत्रको लगानी प्रवद्र्धनका लागि वर्तमान सरकारले लिएका सुधारका प्रयासहरुको प्रसंशा गर्दै वर्तमान सरकारले राजनैतिक स्थायित्व दिन सक्ने र विकासका लागि धेरै काम गर्न सक्ने अवसर भएको बताए । खासगरी अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा अर्थ मन्त्रालयले आर्थिक समृद्धिको लागि पर्याप्त काम गर्न सक्ने अवसर प्राप्त भएको उल्लेख गरे ।
छलफलको क्रममा उपाध्यक्षले वर्तमान सरकारको प्राथमिकता अनुसार भौतिक पूर्वाधारको विकास र खासगरी पूर्व पश्चिम राजमार्गको स्तरोन्नती, मेलम्ची खानेपानी दोश्रो आयोजनाको कार्यान्वयन, दूधकोशी उर्जा विकास, पर्यटन पूर्वाधार, कृषि विकासलगायतका क्षेत्रहरुमा सहयोग बढाउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
अर्थमन्त्री डा. खतिवडाले लगानी सम्मेलनमा उपाध्यक्ष चेनको नेपाललाई थप सहयोग गर्न तयार रहेको धारणाको लागि धन्यवाद दिए। भेटमा बैंकका नेपालस्थित आवासिय निर्देशक मुख्थोर खामुद्खानोभ तथा अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालसमेत सहभागी थिए ।

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु