गृहपृष्ठ ब्रेक्जिटको भविष्यबारे चिन्ता, सहमतिको नयाँ मार्ग खोजिँदै
ब्रेक्जिटको भविष्यबारे चिन्ता, सहमतिको नयाँ मार्ग खोजिँदै
बेलायतका सांसदहरूले शुक्रबार तेस्रो पटक प्रधानमन्त्री टेरेसा मेद्वारा प्रस्तुत ब्रेक्जिट सम्झौता अस्वीकार गरेपछि यतिखेर त्यहाँ नयाँ सहमतिका खोजी सुरू भएको छ । बेलायतको हाउस अफ कमन्समा सांसदहरुले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का विषयमा नयाँ सहमतिको खोजी थालेका छन् ।
बेलायतका लागि यो तेस्रो मतदान महत्वपूर्ण थियो । गत सातामात्र युरोपेली युनियन (ईयू) केही सर्तसहित ब्रेक्जिट (इयूबाट बेलायतको बहिर्गमन)का लागि २९ मार्चका ठाउँमा २२ मार्चसम्म समय दिन सहमत भएको थियो । सर्तअनुसार बेलायती सरकारले तेस्रो पटकमा ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउनुपर्ने थियो । संसदबाट सम्झौता पारित नभएपछि अब बेलायतले युरोपेली संघलाइ अप्रिल १२ सम्म आफ्नो निर्णय सुनाउनुपर्ने हुन्छ ।
उक्त प्रस्ताव विफल भएसँगै बेलायत र युरोपेली युनियनबीचको सम्बन्धमा तनाबको अवस्था सिर्जना भएको छ । युरोपेली युनियनबाट बेलायतको बहिर्गमनको अन्तिम मिति आइपुग्न अब दुई हप्ताभन्दा कमको मात्र समय छ । यही वस्तुतथ्यलाई मनन गरी त्यहाँका सांसदहरूले वर्तमान गतिरोध अन्त्य गर्न फेरि संसदमा विभिन्न विकल्पमाथि मतदान गर्न लागेका हुन् ।
अब बेलायतसँग सम्झौताबाट बाहिर निस्कने चार विकल्पमात्र भएको यूरोपीय परिषदका अध्यक्ष डोनाल्ड टस्कले बताएका छन् । जसमा सम्झौतासहित बाहिरिने, सम्झौताबिना बाहिरिने, दीर्घकालिक विस्तार वा फिर यूरोपीय संघबाट अलग नहुने विकल्प छन् ।
बेलायतमा सन् २०१६ मा भएको जनमतसंग्रहमा ब्रेक्जिटको पक्षमा ५२ प्रतिशतले मतदान गरेका थिए । तर ब्रेक्जिट प्रक्रियामा सांसदहरुबीच मतैक्य हुन सकेको छैन । बेलायती संसद र जनता नै अहिले पनि इयूबाट बेलायत बाहिरिनु पर्छ वा पर्दैन भन्नेमा विभाजित छन् ।
प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियनसँग गत वर्ष नोभेम्बरमा गरेकी सम्झौतालाई बेलायती संसदले अस्वीकृत गरिसकेको छ । मेको प्रस्तावमा गत मार्च २९ मै बेलायत औपचारिक रुपमा युरोपेली युनियनबाट बाहिरिने सम्झौता भएको थियो । युरोपेली युनियनले बेलायत सरकारको अनुरोधमा उक्त मितिलाई मे २२ सम्म थप गरेको थियो ।
प्रधानमन्त्री मेले अघि सारेको एक अर्को प्रस्तावमा संसदले ब्रेक्जिटमा सहमति जनाए आफूले प्रधानमन्त्रीको पदबाट राजीनामा दिने बताएकी छिन् । तर यो प्रस्तावमा पनि सांसदहरुले कुनै सहमति निकाल्न सकेका छैनन् ।
यस असहमतिका बीच सरकारले अब युरोपेली युनियनसँग आगामी अप्रिल १० सम्मको समयावधि थप गर्न समय माग्नु पर्नेछ अथवा अप्रिल १२ मा बिना कुनै सम्झौता युरोपेली युनियनबाट बेलायत बिदा हुनु पर्नेछ । यो परिस्थितिमा बेलायतको समग्र आर्थिक परिदृश्य अस्तव्यस्त हुनेछ । तर मे २२ भन्दा अझ ढिलो भए बेलायतमा युरोपेली संसदका लागि अरु युरोपेली युनियनका सदस्य राष्ट्रझैं चुनाव गर्नुपर्ने विचित्र परिस्थिति सिर्जना हुनेछ ।
युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड जन्करले आइतबार एक इटालेली टेलिभिजनसँग कुरा गर्दै बेलायतसँग युरोपेली युनियनको धैर्यता टुट्दै गएको बताए। ‘बेलायती मित्रहरुसँग हाम्रो गहिरो धैर्य छ, तर त्यो धैर्यको पनि बाँध फुट्नै लागेको छ । अहिलेसम्म हामीलाई बेलायती संसदले हुन्न भनेको मात्र थाहा छ,’ उनले भने ।
प्रकाशित समय १७:१२ बजे

















