गृहपृष्ठ बेंगलोरको लगातार चौथो हार, राजस्थान ७ विकेटले विजयी
बेंगलोरको लगातार चौथो हार, राजस्थान ७ विकेटले विजयी
इन्डियन प्रिमियर लिग आईपीएलमा रोयल च्यालेन्जर्स बेंगलोर लगातार चौथोपटक पराजित भएको छ । लेग स्पिनर श्रेयस गोपालको घातक बलिङ र ओपनर जस बटलरले उत्कृष्ट अर्धशतक प्रहार गरेपछि राजस्थान रोयल्सले भने पहिलो जित निकाल्न सक्यो ।
मंगलबार राती भएको खेलमा बेंगलोरलाई ७ विकेटको हार चखाउँदै राजस्थानले अंकको खाता खोल्न सफल भयो । लगातार चौथो खेलमा पराजित भएपछि बेंगलोरको अघिल्लो चरणको यात्रा कठिन देखिएको छ ।
१ सय ५९ रनको लक्ष्य राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा ओपनर बटलरले ५९ रनको योगदान दिए । कप्तान अजिंक्या रहणे २२ रनमा आउट भए । स्टिभ स्मिथले ३८ रन बनाए । अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठीले ३४ रन जोड्दै अविजित रहे । बेंगलोरका लागि युजवेन्द्र चाहालले २ र मोहम्मद सिराजले १ विकेट लिन सफल भए पनि टोलीलाई जिताउन भने सकेनन् ।
जयपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । पार्थिव पटेलले ६७ रनको महत्वपूर्ण योगदान गरे । विराट कोहलीले २३, एबी डि भिलियर्सले १३, मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनको योगदान गरे ।
श्रेयस गोपालले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरले एक विकेट लिए । बेंगलोरले आगमी ५ अप्रिलमा कोलकता नाइट राइडर्ससँग खेल्ने छ ।
प्रकाशित समय ०६:५४ बजे

















