गृहपृष्ठ आठौं राष्ट्रिय खेलकुद : बेलझुण्डीको रंगशाला तयार गरिँदै
आठौं राष्ट्रिय खेलकुद : बेलझुण्डीको रंगशाला तयार गरिँदै
आठौँ राष्ट्रिय खेलकुद नजिकिँदै गर्दा दाङको बेलझुण्डीस्थित रंगशाला निर्माणकार्य तीव्र पारिएको छ । बेलझुण्डी रंगशालामा हिजोआज बिहानदेखि साँझसम्म निर्माणको काम भइरहेको छ । एथलेटिक्स र फुटबल खेलमैदानको निर्माणको काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकूद विकास समिति दाङका अध्यक्ष डिल्ली डाँगीले जानकारी दिए । उनका अनुसार एथलेटिक्स खेलका लागि त्यहाँ सिन्थेटिक ट्रयाक निर्माण भइरहेको छ । सिन्थेटिक ट्रयाक निर्माणका लागि चीनबाट सामग्रीसहित चिनियाँ प्राविधिकले आएर निर्माणको कामलाई तीव्र पारेका छन् ।
त्यसैगरी फुटबलका लागि आवश्यक खेलमैदान निर्माणकार्य पनि अन्तिम चरणमा पुगेको छ । फुटबल खेलका लागि यतिखेर बेलझुण्डीमा रहेको मैदानमा हरियो दुबो रोपेर सजाइएको छ । रोपिएको दुबो नमरोस् र खेलमैदान हरियो दुबोमा होस् भन्ने उद्देश्यले सिँचाइदेखि त्यहाँ सजिसजावट गर्न शुरु गरिएको छ ।
दर्शकलाई बस्नका लागि साधारण प्यारापिट निर्माण सम्पन्न भएको छ । त्यसैगरी रंगशाला नजिकै पानीको सुविधाका लागि डिपबोरिङ पनि गरिएको छ । त्यसैगरी भीआइपी प्यारापिट निर्माण, खेलाडीका लागि चेन्जिङरुम, बैठककक्ष, भीआइपीकक्ष र मिडिया घरलगायतका पूर्वाधार निर्माणको काम शुरु भइसकेको अध्यक्ष डाँगीले जानकारी दिए ।
‘आठाँै राष्ट्रिय खेलकूद प्रतियोगितालाई मध्यनजर गरी आवश्यक भौतिक पूर्वाधारका कामलाई पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्र पारेका छौँ,’ डाँगीले भने, ‘ती सबै पूर्वाधार निर्माणको जिम्मेवारी दिवाएमए प्रतिष्ठा कन्स्ट्रक्सन जेभी काठमाडाँैले पाएको छ ।’ त्यसका लागि २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको छ ।
दाङमा राष्ट्रिय खेलकूद परिषद् तथा युवा खेलकूद मन्त्रालयको आयोजनामा आगामी वैशाखको ४ गतेदेखि ११ गतेसम्म विभिन्न आठ विधाका खेल हुने जिल्ला खेलकूद विकास समिति दाङले जनाएको छ । दाङमा एथलेटिक्स र महिला फुटबल प्रतियोगिताका खेल बेलझुण्डीमा हुने छन् भने तुलसीपुरको मल्टिपप्रोज कभर्डहलमा कराँते प्रतियोगिता, घोराहीको कर्भडहलमा आइटीफ तेक्वान्दो, ब्याटमिन्टन, पुरुष बास्केटबल र महिला बास्केटबल प्रतियोगिता हुनेछन् । त्यसैगरी लमही क्रिकेट मैदानमा महिला क्रिकेट खेल हुने जनाइएको छ ।
प्रकाशित समय १२:४४ बजे

















