गृहपृष्ठ तीन दिनमै ३३ अंकले बढ्यो नेप्से, बुधबार ८२ करोडको कारोबार
तीन दिनमै ३३ अंकले बढ्यो नेप्से, बुधबार ८२ करोडको कारोबार
सेयर बजार परिसूचक (नेप्से) लगातार उकालो लाग्न थालेको छ । नयाँ वर्षको सुरूवातदेखि नै बढ्न थालेको बजार निरन्तर उकालो लाग्दै १२१७.०४ अंकमा पुगेको हो ।
यो साताको तीन दिनमै नेप्से ३३ अंकले बढेको छ । नेप्से उकालो लाग्न थालेपछि ठूला र संस्थागत लगानीकर्ता बजार प्रवेश गर्न थालेका छन् । जसले गर्दा कारोबार रकममा पनि बढोत्तरी आएको छ । मंगलबार ७४ करोडको कारोबार भएको बजारमा बुधबार ८२ करोडको सेयर किनबेच भएको छ ।
सेयर उकालो लाग्न लागेपछि खरिद चाप बढेको छ भने अल्पकालीन कारोबार नाफा बुक गर्दै सेयर किन्दै गर्न थालेका छन् । सोमबार र मंगलबार बजार बढेको मौका छोप्दै कारोबारीले नाफा बुक गर्दा बुधबार दिनभर उतारचढाव देखियो ।
बुधबार १० उपसमूहमध्ये बैंक, होटल, विकास बैंक र जीवन बिमा समूहमात्र बढ्दा पनि नेप्सेमा ४.९९ अंकको वृद्धि देखिएको छ । जलविद्युत, वित्त, निर्जीवन बिमा, उत्पादनमूलक, अन्य र लघुवित्त समूह भने घटेका छन् ।
तीव्र प्रगति गरिरहेका निजी क्षेत्रका बैंक एनआईसी एसिया र एनएमबी बैंकमा लगानीकर्ताको आकर्षण देखिएको छ । बितेका ६ महिनाको तथ्यांकअनुसार गत वर्षको भन्दा नाफामा उल्लेख्य वृद्धि गरेको एनआईसी एसियाको सेयर मूल्य लगातार उकालो लागेको छ भने तेस्रो त्रैमासिक विवरण गतिलो आउने अपेक्षामा एनएमबी बैंकमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ ।
केही दिनदेखि यी दुवै कम्पनी उच्च कारोबार हुने कम्पनीको सूचीमा छन् । बुधबार पनि एनएमबी बैंकको ७ करोड २६ लाखबराबरको १ लाख ८९ हजार ५८२ कित्ता तथा एनआईसी एसियाको ४ करोड ५४ लाखबराबरको ९२ हजार ९२१ कित्ता सेयर किनबेच भयो । बुधबार सिभिल लघुवित्त, युनिभर्सल पावर कम्पनी, युनाइटेड फाइनान्सलगायत कम्पनीका लगानीकर्ताले बढी कमाएका छन् ।
प्रकाशित समय १६:५७ बजे

















