गृहपृष्ठ गर्मी बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द
गर्मी बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द
गर्मी अत्यधिक बढेपछि कपिलवस्तुका अधिकांश विद्यालय बन्द भएका छन् । प्रचण्ड गर्मीका कारण पठनपाठनमा समस्या आएकाले वाणगंगा र कपिलवस्तु नगरपालिकाका निजी तथा संस्थागत विद्यालय एक साताका लागि बन्द गरिएको हो ।
जेठ १२ देखि १७ गतेसम्मका लागि विद्यालयमा गर्मी बिदा दिइएको छ । अधिकांश सामुदायिक विद्यालयमा टिनको छाना भएको र कक्षाकोठामा पंखासमेत नभएकाले विद्यार्थीलाई पठनपाठनमा समस्या छ ।गर्मीका कारण साना बालबालिका कक्षा कोठामै निदाउने र अर्धचेत हुने समस्या बढेको शिक्षकले बताएका छन् ।
अभिभावकले नै गर्मीमा विद्यालय बन्द गर्न आग्रह गर्ने गरेका छन् । अहिले कपिलवस्तुको तापक्रम ४४ डिग्री सेल्यियससम्म पुगेको छ । जिल्लाका अधिकांश विद्यालय बिहानमा सञ्चालन हुँदै आएका छन् । कपिलवस्तुका अन्य ८ स्थानीय तहले पनि गर्मी बढेपछि विद्यालय बन्द गर्नेबारे छलफल भइरहेको जनाएका छन् ।
प्रकाशित समय ०७:३६ बजे

















