गृहपृष्ठ ललितपुरको कोञ्ज्योसोममा खेलमैदान बनाइने, ६ करोड लाग्ने
ललितपुरको कोञ्ज्योसोममा खेलमैदान बनाइने, ६ करोड लाग्ने
ललितपुरको कोञ्ज्योसोम गाउँपालिकामा खेलमैदान निर्माण हुने भएको छ । गाउँपालिकाको खेलकुद क्षेत्रको विकासका लागि मैदान निर्माणको तयारी गरिएको हो ।
खेलमैदानका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानले जानकारी दिए । गत वर्ष खेलमैदानको अध्ययनका लागि गाउँपालिकाले १० लाख बजेट छुट्टाएको थियो । मैदान निर्माणका लागि ६ करोड रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ ।
मैदान निर्माणका लागि प्रदेश सरकारसँग बजेट माग गरिएको सिङ्तानले बताए । ‘आगामी बजेटमा गाउँपालिकाले मैदानका लागि बजेट विनियोजन गर्नेछ,’ उनले भने ।
ललितपुरको ग्रामीण क्षेत्रमा खेलमैदानको अभाव छ । खेलमैदान बने गाउँपालिका र गोदावरी नगरपालिकाबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । गाउँपालिकामा खेल विकासको पर्याप्त सम्भावना भए पनि सधैं खेल मैदानको अभाव छ ।
गाउँपालिकाको वडैपिच्छे फुटबल क्लब छन् । स्थानीय युवाको खेलप्रति निकै आकर्षण छ । ‘मैदान निर्माण भएपछि विभिन्न खेल प्रतियोगिता सञ्चालन गर्नेछौ,’ अध्यक्ष सिङ्तानले भने । गाउँपालिकाले गत वर्षदेखि अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।
प्रकाशित समय ०७:२७ बजे

















