गृहपृष्ठ दीपेन्द्रको कसिलो बलिङसँगै पुलिस सेमिफाइनलमा
दीपेन्द्रको कसिलो बलिङसँगै पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको सूमुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार प्रदेश २ लाई १ सय ५६ रनको फराकिलो अन्तरले हराउँदै पुलिस समूह बी को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । पुलिसले अब समूह ए को उपविजेतासँग खेल्नेछ । आर्मी पनि समूह बी बाट उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
२ सय ५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा ९७ रनमै समेटियो । ओपनर हरि शंकर शाहले सर्वाधिक २९ रनको योगदान दिए । सुरज पटेल १२, कप्तान महबुब आलम २१ र रवि शाहले १५ रन जोडे ।
पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडनसहित २८ रन खर्चेर ५ विकेट लिए । ललित नारायण राजवंशीले ३, सागर ढकाल र कुशल भुर्तेलले समान १–१ विकेट हात पारे ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५३ रन बनाएको थियो । अमित श्रेष्ठले ५० रनको योगदान दिए । ओपनर सुनिल धमलाले ४३ रनको योगदान दिए । अनिल कुमार शाहले ३७ रन जोडे । आरिफ शेखले ३२ रनको योगदान गरे । कुशल भुर्तेलले ३५ रन जोडे ।
दिपेन्द्र सिंह ऐरी १८, पवन सरार्फ १३ र दिलिप नाथ डक आउट भएका थिए । सागर ढकाल २, कप्तान मञ्जित श्रेष्ठ र ललित नारायण राजवंशीले समान १–१ रन जोडे ।
प्रदेश २ का लागि साम्सद शेखले ४ विकेट लिए । राशिद खानले २, कुमार थापा, दिवान्सु मलिक र कप्तान महबुुब आलमले समान १–१ विकेट लिए ।
प्रकाशित समय १६:०७ बजे

















