गृहपृष्ठ प्रदेश २ को नीति तथा कार्यक्रममा आसपास र लुकिछिपी पनि

प्रदेश २ को नीति तथा कार्यक्रममा आसपास र लुकिछिपी पनि

niti_karykram_province2-newskarobar

प्रदेश २ सरकारले अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा आइतबार प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमले केही लोकप्रिय नारासहितका कार्यक्रम पनि ल्याएको छ ।

नीति तथा कार्यक्रममा दलित वर्गभित्र आर्थिक एवं समाजिक रुपले सबैभन्दा पछाडि परेका जातजातिलाई मूलधारमा ल्याउन रासन कार्डको व्यवस्था गर्ने उल्लेख छ । त्यस्तै, ५ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा तथा उच्च शिक्षा अध्ययनमा त्यस समुदायका विद्यार्थीलाई खाने–बस्ने व्यवस्था गर्नेलगायतका व्यवस्था नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै, कृषिक्षेत्रको समग्र विकासको लागि प्रदेश कृषि अनुसन्धान केन्द्रको स्थापना गर्ने, उत्पादित अन्नबाली खरिद गर्नका लागि विभिन्न जिल्लामा कृषि मण्डलीको स्थापना गर्ने, अन्नबाली, फलफूल, तरकारी बाली, पशुपंन्छी तथा माछापालनमा बिमाको व्यवस्था गर्नेलगायतको कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । किसानको प्रोत्साहनका लागि वर्षको एक दिन धान तथा ओरहा दिवस मनाइने प्रदेश प्रमुख कायस्थले जानकारी दिए ।

युवालाई विदेश पलायन हुनबाट रोक्न एवं स्थानीय स्तरमै साना तथा मझौला उद्योग सञ्चालन गरी रोजगारीको वातावरण बनाउन प्रदेश सरकारले मापदण्ड बनाएर निःशुल्क प्राविधिक तालिम उपलब्ध गराउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, युवालाई व्यवसायतर्फ उन्मुख गर्न २५ प्रतिशत अनुदानको व्यवस्था, २५ प्रतिशत आफैँ लगानी गराउने र बैंकबाट ५० प्रतिशत सहुलियत दरमा ऋणको व्यवस्था मिलाइने भएको छ ।

यस्तै, परम्परागत खेलहरू कुस्ती, कवड्डी, टिका ठाडी, गुल्ली डन्डा, हुरा, लुकाछिपी, आसपास जस्ता खेलको अनुसन्धान गरी संरक्षण सम्वर्धन एवं विकास गर्नेसमेत नीति तथा कार्यक्रममा समेटिएको छ ।

प्रकाशित समय ०७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु