गृहपृष्ठ मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना पोखरामा
मेलम्चीपछिकै ठूलो खानेपानी आयोजना पोखरामा
पोखरामा खानेपानीको क्षेत्रमा मेलम्चीपछिको ठूलो आयोजनाको काम सुरु हुने भएको छ । पोखरास्थित मर्दी खोलामा दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन क्षमताको आयोजना खानेपानी मन्त्रालयले सुरू गर्न लागेको हो । आयोजनाको जेठ २८ गते खानेपानीमन्त्री बिना मगरले उद्घाटन गर्ने कार्यक्रम छ ।
आयोजनाबाट पोखरा महानगरपालिकाका साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाका लागि जापानले नेपाललाई ४ अर्ब ८१ करोड रुपैयाँ अनुदान दिने सम्झौता भइसकेको छ । आयोजनाको सिभिलतर्फको कामका लागि नेपाल खानेपानी संस्थान र जापानको हाजमा एन्दो कर्पोरेसनबीच फागुन ४ गते ठेक्का सम्झौता भइसकेको छ । हाजमाले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा ठेक्का पाएको हो ।
खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेन्ट प्लान्ट निर्माण र पाइपलाइन विस्तारमा खर्च हुनेछ । खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै, खानेपानी भण्डारण गर्न २० लाख लिटर क्षमताका ३ वटा रिजर्भ ट्यांक निर्माण हुनेछन् ।
प्रकाशित समय ११:५७ बजे

















