गृहपृष्ठ ‘शैलजा आचार्यले गरेको निष्ठाको राजनीति अनुकरणीय’
‘शैलजा आचार्यले गरेको निष्ठाको राजनीति अनुकरणीय’
नेपाली कांग्रेसका स्वर्गीय नेता शैलजा आचार्यले गरेको निष्ठाको राजनीति अनुकरणीय रहेको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले बताएका छन् । स्वर्गीय नेता आचार्यको दशौं स्मृति दिवशमा नेपाल महिला संघ रुपन्देहीले बुटवलमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले स्व. आचार्यले देखाएको निष्ठा र आदर्शको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली कांग्रेसलाई समावेशी बनाउन र महिला हक हितका सवालमा स्वर्गीय नेतृ अर्चायले खलेको प्रेरणादायी भूमिकाको स्मरण गर्दै उनीहरुले पार्टीलाई बलियो बनाउन महिला सहभागितामा विशेष ध्यान दिनुपर्नेमा धारणा राखेका छन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेकी नेतृ आचार्यले २०१७ सालमा राज महेन्द्रलाई कालो झण्डा देखाएपछि तीन वर्ष जेल जीवन बिताएकी थिइन् । उनी २०४८ सालको आमनिर्वाचनमा मोरङबाट प्रतिनिधिसभामा निर्वाचित भई कृषि वन तथा भू–संरक्षणमन्त्री र २०५३ सालमा उपप्रधानमन्त्री बनेकी थिइन् ।
बिपी कोइरालाकै छत्रछायाँमा रहेर राजनीतिक यात्रा सुरु गरेकी आचार्य २०३३ मा बिपीको राष्ट्रिय मेलमिलापको नीति स्वीकार्दै बिपीसँगै नेपाल फर्किएकी थिइन् । देशमा महिला अधिकारका मुद्दा स्थापित गराउन पनि नेतृ आचार्यको महत्वपूर्ण योगदान छ ।
मुलुकी ऐनको एघारौं संशोधन ल्याउन नेतृ शैलजाको ठूलो देन छ । पार्टीलाई समावेशी बनाउँदै महिलालाई नेतृत्व तहमा पु–याउनुपर्छ भन्ने सवाल नेतृ आर्चायले कांग्रेसभित्र सुरुदेखि नै उठाउँदै आएकी थिइन् । २००१ सालमा मोरङमा जन्मिएकी आचार्यको २०६७ सालमा काठमाडौमा निधन भएको हो ।
प्रकाशित समय १९:२७ बजे

















