गृहपृष्ठ हुन्डीलाई हात्तीबारको खाँचो
हुन्डीलाई हात्तीबारको खाँचो
नेपालको अर्थतन्त्रलाई एकातिर रेमिट्यान्सले धानिरहेको छ भन्ने गरिन्छ भने अर्कातिर त्यो रेमिट्यान्स कसरी र कुन माध्यमबाट प्राप्त भइरहेको छ, कसरी खर्च भइरहेको छ भन्ने खोजीनीति गर्ने गरेको पाइँदैन । औपचारिक तथ्यांकका आधारमा चालू आर्थिक वर्षमा देशमा प्राप्त हुने रेमिट्यान्स करिब साढे ८ खर्ब रुपैयाँबराबर पुग्ने अनुमान गरिएको छ । यो त बैंकिङ च्यानल अथवा बैंक र रेमिट्यान्स कम्पनीहरूमार्फत् भित्रने रकममात्रै हो । अनौपचारिक माध्यमबाट कति रेमिट्यान्स भित्रन्छ भन्ने औपचारिक तथ्यांक कसैसँग पनि छैन । नेपाल राष्ट्र बैंकले हालैका वर्षहरूमा नेपालमा भित्रिने ९० प्रतिशत रकम बैंकिङ च्यानलबाट भित्रिने गरेको बताउने गरे पनि वास्तविकताले त्योभन्दा निकै ठूलो र डरलाग्दो राशि हुन्डीबाट भित्रने गरेको देखाउँछ ।
दक्षिण कोरिया नेपाली कामदारहरूको आकर्षक गन्तव्य रहँदै आएको छ । कोरिका लागि खुला गरिने भाषा परीक्षामा ८०-८५ हजार युवाले सहभागिता जनाएको भन्ने खबरलाई सामान्य मान्य थालिएको छ । कोरिया जाने नेपाली कामदारले महिनामा औसत १ लाख ७० हजार रुपैयाँ कमाउँछ । यसमा ओभरटाइम र अन्य सुविधा जोड्दा यो रकम अझै ठूलो हुन आउँछ । त्यसैले युवाहरू जसरी भए पनि कोरिया जान भाषा परीक्षाका लागि मेहनत गर्ने गर्छन् । सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रम सम्झौता भएयता ६१ हजार ७३६ नेपाली त्यहाँ पुगिसकेका छन् । यो क्रम अझै केही वर्ष रोकिनेवाला छैन किनकि कोरियाले नेपाली कामदारको माग बढाउँदैछ ।
कोरियामा नेपाली कामदारको माग बढ्दै जानु वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मुलुक खोज्दै आएको नेपालका लागि सकारात्मक संकेत हो । कोरियाबाहेक हालैमात्र जापानसँग पनि नेपाली कामदार पठाउने विषयमा सम्झौता भइसकेको छ । केही समययता इजरायलको रोकिए पनि अब त्यहाँसमेत नेपाली घरेलु कामदार आपूर्ति पुनः खुल्ने पहल भइरहेको छ । यी यस्ता श्रम गन्तव्य मुलुकहरू हुन्, जहाँ तलबमान बढी छ । सेवासुविधा आकर्षक छ । तलब र अन्य सेवासुविधा आकर्षक भएपछि नेपाली कामदारहरूको आकर्षण पनि बढ्नु स्वाभिक नै हो । दक्षिण कोरियाले बेलाबेलामा विद्यमान तलबमान र अन्य सेवासुविधामा समेत वृद्धि गर्दै आएको छ, जसबाट नेपाली कामदारहरू लाभान्वित हुँदै आएका छन् ।
दक्षिण कोरियामा नेपाली श्रमिकले वार्षिक औसत १ खर्ब रुपैयाँ कमाउने भए पनि त्यहाँबाट मुश्किलले १६ अर्ब रुपैयाँमात्र रेमिट्यान्सका रूपमा नेपाल भित्रिनु भनेको यहाँको वित्तीय प्रणालीमाथिकै गम्भीर जोखिमको कुरा हो । कोरियामात्र होइन, इजरायलमा अहिले करिब १० हजार नेपाली महिला केयर गिभरका रुपमा कार्यरत छन् । त्यहाँबाट आर्जन हुने १५ देखि २० अर्ब रुपैयाँ लगभग सबै नै जसो हुन्डीबाट नेपाल आउँछ भने जापान, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा पुगेका नेपालीले पनि पठाउने आर्जन हुन्डीबाट नै हो । यसरी हेर्दा कुल रेमिट्यान्सको ३० देखि ४० प्रतिशत रकम हुन्डीबाटै नेपाल भित्रने गरेको अनुमान गर्न सकिन्छ । यस्तो हुन्डीको कारोबारले देशभित्र समानान्तर आर्थिक प्रणाली बढाउनमा भूमिका खेलिरहेको छ ।
हुन्डीको कारोबार मूलतः तीन कारणले फस्टाउँछ, औपचारिक बैंकिङ वा रेमिट्यान्स प्रणाली स्थापित नहुँदा, रेमिट्यान्सको लागत बढी हुँदा र त्यो पठाउने प्रक्रिया सहज नहुँदा तथा देशमा कानुनी व्यवस्था बहाल नहुँदा । कोरियाली रेमिट्यान्स प्रणाली सहज नभएको, टाढा भएको र लागत बढी भएको कारणले त्यहाँबाट ९० प्रतिशत रकम हुन्डीबाट आएको देखिन्छ । तसर्थ, सरकारले त्यहाँको सरकारस्तरमै पहल गरेर रेमिट्यान्स प्रणालीलाई सहज बनाउनु आवश्यक छ ।
यो पनि पढ्नुहोस्
कोरियामा नेपालीले कमाउँछन् १ खर्ब, वैधानिक तवरबाट भित्रिन्छ जम्मा १६ अर्ब
प्रकाशित समय १३:३९ बजे

















