गृहपृष्ठ संघीयताको बुझाइ नै प्रस्ट भएन : मन्त्री गुरुङ

संघीयताको बुझाइ नै प्रस्ट भएन : मन्त्री गुरुङ

samudayik radio-newskarobar

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संघीयताको बुझाइ नै प्रस्ट नभएको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘पत्रकार महासंघ गण्डकी प्रदेश संघीय संरचनामा नभई केन्द्रको तल्लो निकाय वा इकाईको रुपमा रहनु संघीयताको मर्म र भावनाविपरीत छ ।’

संघीयताको मर्म र भावनाअनुसार सबै निकाय संघीय संरचनामा जानुपर्ने उनले बताए । ‘संघीयतामा प्रदेश भयो, प्रदेश भएपछि विभिन्न संघ-संस्थाले त्यसका तल्ला इकाइको रुपमा प्रदेश भनेर बनाएका छन् र हामीले संघीयताअनुरुप ग-यौं भन्नु ठूलो भ्रम हो,’ उनले भने, ‘यसले संघीयताको बुझाइमै समस्या देखाउँछ ।’

जनताका मौलिक हक संरक्षण गर्न चौथो अंगको रुपमा रहेको पत्रकारले आफ्नो दायित्व बहन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । ‘राज्यको चौथो अंग भनेको के हो त्यो बुझ्न आवश्यक छ, राज्यसँग जे अपेक्षा छ, जुन अभियान छ, त्यसका लागि पत्रकारले पनि आफ्नो दायित्व पुरा गर्नुपर्छ,’ उनले भने, ‘जब हामी मौलिक हक र सूचनाको हकलाई ठिक ढंगले संरक्षण गर्न सक्दैनौं तब समस्या उत्पन्न हुन्छ ।’

प्रदेशको बजेट तथा कार्यक्रम दीर्घकालीन सोचका साथ आउने उनले बताए । ‘नेपाली उखान छ नि उद्देश्य के लिनु उडी छुनु चन्द्र एक, हो त्यो नाराजस्तै हामीले आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम ल्याउने तयारी गरेका छौं,’ मन्त्री गुरुङले भने ।

नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिब रमेश विष्टले तर्क र तथ्यका आधारमा सरकारसँग बहस गर्न तयार रहेको स्पष्ट पारे । ‘तर पत्रकारलाई आचारसंहिता पालना नगरेकै कारण जेल र दण्ड जरिवानाको कठोर निर्णयविरुद्ध आन्दोलन जारी रहन्छ,’ उनले भने ।

कांग्रेसका गण्डकी प्रदेश प्रमुख सचेतक मणिभद्र शर्माले प्रदेश सरकारले प्रेसमैत्री कानुन बनाएकाले संघीय सरकारले पनि त्यसमा संशोधन गर्नुपर्ने विचार राखे ।

सामुदायिक रेडियोलाई सहयोग
यसैबीच, आगलागीपछि बन्द रहेको पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’ सञ्चालनका लागि अमेरिकामा रहेका इन्जिनियर भीष्म पौडेलले ३ लाख रुपैयाँ सहयोग गरेका छन् । सहयोग रकमबराबरको चेक नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको प्रथम साधारण सभाको अवसरमा शनिबार रेडियोका संस्थापक अध्यक्ष भोलानाथ शर्मा, स्टेसन म्यानेजर शंकर शर्मा र महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारीलाई गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेललगायतले हस्तान्तरण गरेका छन् ।

प्रकाशित समय १४:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु