गृहपृष्ठ विश्वकप क्रिकेट : अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो
विश्वकप क्रिकेट : अष्ट्रेलिया शीर्षस्थानमा उक्लियो
एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
बंगलादेशलाई बिहीबार ४८ रनले पराजित गरेसँगै अष्ट्रेलियाले इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पारेको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ३३ रन मात्र बनाउन सक्यो । मुश्फिकुर रहिमले शतक प्रहार गरे पनि टिमलाई जिताउन सकेनन् । उनी ९५ बलमा ९ चौका र १ छक्का सहित १ सय २ रनमा अविजित रहे ।
महमुदूल्लाहले ६९ रनको योगदान दिए । ओपनर सौम्य सरकार व्यक्तिगत १० रनमा पेभेलिएन फर्किएका थिए । सकिब अल हसनले ४१ रन मात्र जोड्न सके । तामिम इकवालले ६२ रनमा बनाए । शब्बिर रहमान डक र मेहदी हसन मिराज ६ रनमा पेभेलियन फर्किए । अष्ट्रेलियाका नाथन कुल्टर नाइल, मिचेल स्टार्क र मार्कस स्टोइनिसले समान २–२ विकेट लिए । एडम जम्पाले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८१ रन बनाएको थियो । ओपनर डेविड वार्नरले १ सय ६६ रनको उत्कृष्ट पारी खेले । वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।
उस्मान खवाजाले ८९ रनको महत्वपूर्ण योगदान दिए । कप्तान आरोन फिन्चले ५३ रन बनाए । ग्लेन म्याक्सवेलले विस्फोटक ब्याटिङ गर्दै १० बलमा ३२ रन बनाए । स्टिभ स्मिथ १ रनमा आउट भए । मार्कस स्टोइनिस १७ र एलेक्स केरि ११ रनमा अविजित रहे । बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए । मुस्ताफिजुर रहमानले एक विकेट लिए ।
अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रकाशित समय ०७:०९ बजे

















