गृहपृष्ठ डाक्टरले चलाएको कारको ठक्करले हस्पिटलको पार्किङमै बालकको मृत्यु
डाक्टरले चलाएको कारको ठक्करले हस्पिटलको पार्किङमै बालकको मृत्यु
डाक्टरले चलाएको कारको ठक्करले पोखराको मणिपाल हस्पिटलमा ४ वर्षीय बालकको ज्यान गएको छ । डाक्टर विश्वदिप तिमिल्सिनाको ग. ३ च ४३६ नम्बरको गाडीले ठक्कर दिँदा पोखरा २८ माझठाना घर भई हाल पोखरा ११, फूलबारी बस्दै आएका संस्कार कँडेलको मृत्यु भएको हो ।
शनिबार बिहान करिब ८ः३० बजेको समयमा हस्पिटलको पार्किङ स्थलमा डाक्टर तिमिल्सिनाको गाडीले ठक्कर दिँदा बच्चाको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ । हस्पिटलको मोटरसाइकल पार्किंङबाट बच्चाका बाबुले स्कुटर निकाल्ने क्रममा छेउमा रहेको बच्चाले बाटो क्रस गर्न खोज्दा डाक्टर तिमिल्सिनाको गाडीले ठक्कर दिएको थियो ।
बच्चाकी आमा बाटो पारि रहेकीले बच्चा वारिबाट आमा भएतर्फ जाने क्रममा दुर्घटनामा परेको बताइएको छ । बच्चाका बाबुआमा हस्पिटलमा बिरामी भएका आफन्तलाई भेटेर फर्कने क्रममा हस्पिटल हाताभित्रै घटना घटेको हो । डा. तिमिल्सिनाले बच्चालाई ठक्कर दिनसाथ पछाडिको टायरले किच्नबाट बचाउन सक्ने हुँदाहुँदै किचेको आफन्तको आरोप छ । हस्पिटल क्षेत्रमा तीव्र गतिमा गाडी झिक्दै गरेका डाक्टर मोबाइल फोनमा कुरा गरिरहेकाले दुर्घटना भएको बच्चाका मामा हरिश्चन्द्र अधिकारीले बताए ।
हस्पिटलको हाताभित्रै डाक्टरको लापर्बाहीले बच्चाको मृत्यु हुँदासमेत प्रहरी प्रशासनले डाक्टरलाई जोगाउन र आफूहरुमाथि धरपकड गर्न खोजेको भन्दै आफन्तले इमर्जेन्सी वार्डमा ताल्चा लगाएका थिए । इमर्जेन्सी वार्डको एकतर्फ ताल्चा लगाए पनि अर्को तर्फबाट उपचार भने जारी रहेको अस्पतालले जनाएको छ ।
डाक्टर तिमिल्सिना र ठक्कर दिने गाडीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । कास्कीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार केसीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित समय १३:५० बजे

















