गृहपृष्ठ सेयर बजारमा १५ लाख लगानीकर्ता, विस्तार तीव्र
सेयर बजारमा १५ लाख लगानीकर्ता, विस्तार तीव्र
तीन वर्षमा ५ लाख लगानीकर्ता थपिए, सेयर संख्या चार गुणा बढ्यो
प्राविधिक तथा नीतिगत सुधारको प्रभाव नेपालको सेयर बजारमा देखिन थालेको छ । नियामक निकायको सक्रियता, वित्तीय साक्षरता र बजारको प्राविधिक तथा नीतिगत सुधारका कारण सेयर बजारमा नयाँ लगानीकर्ता आकर्षित भएका छन् ।
फलस्वरुप, तीन वर्षमै सेयर बजारको तीव्र विस्तार भएको छ । लगानीकर्ताको संख्या १० लाखबाट बढेर १५ लाख पुगेको छ । २०७३ सालसम्म करिब १० लाख हाराहारी लगानीकर्ता रहेकोमा तीन वर्षको अवधिमा ५ लाख थपिएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । आस्वा र सी-आस्वा प्रणालीका कारण देश तथा विदेशबाट समेत साधारण सेयरमा आवेदन दिन सकिने भएकाले बजारमा लगानीकर्ताको पहुँच बढेको छ । अनलाइन कारोबारका कारण देश तथा विदेशका लगानीकर्ता नेपालको सेयर बजारमा आकर्षित भएका छन् ।
देशका २२ सहरमा ४८ ब्रोकर कम्पनीका शाखा स्थापना भएका छन् । व्यवसाय विस्तारका लागि उनीहरुबाट पनि प्रयास भइरहेको छ । नेपाल धितोपत्र बोर्ड वित्तीय साक्षरताका कार्यक्रम लिएर ७२ जिल्लामा पुगिसकेको छ । ‘धितोपत्रसम्बन्धी कार्यक्रम लिएर हामी ७२ जिल्ला पुगिसकेका छौं,’ बोर्डका अध्यक्ष रेवतबहादुर कार्की भन्छन्, ‘नेपालको सेयर बजार गाउँ–गाउँसम्म पुगिसकेको छ ।’ अब जुम्ला, मुगु, डोल्पा, हुम्ला र म्याग्दी जिल्लामात्र पुग्न बाँकी रहेको बोर्डले जनाएको छ ।
अझ बैंकको सञ्जाल धेरै ठूलो रहेको र बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर सेवा दिने व्यवस्थाले नेपालको सेयर बजारको विस्तार व्यापक हुने अध्यक्ष कार्की बताउँछन् । ‘सुरुमा त बैंकहरु पनि राजधानी केन्द्रित नै होलान्,’ उनले भने, ‘जब गाउँ–गाउँबाट ब्रोकर सेवा दिन थाल्छन्, तब नेपालको सेयर बजारको विकास अनपेक्षित नै हुन्छ ।’ बैंकहरुलाई ब्रोकर सेवा दिन शाखा भएको ठाउँलाई सामान्य व्यवस्थापन गर्दा हुने भएकाले धेरै सहज हुने उनले बताए ।
छोटो अवधिमै सेयर बजारको व्यापक विस्तार हुनुमा ‘१० कित्ता’को नीतिगत व्यवस्थाले ठूलो भूमिका खेलेको अध्यक्ष कार्कीले बताए । ‘सेयर पर्छ भन्ने भएपछि भर्न पनि जाँगर चल्छ नि !’ उनले भने, ‘यो व्यवस्थो साना लगानीकर्तालाई सेयर बजारमा जोड्न सहज भएको छ ।’ प्रदेश १ बाट अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घोष गरेको ‘एक नेपाली एक डिम्याट खाता’ प्रावधानले पनि यसमा बल पु-याएको छ ।
सेयर बजार अत्यन्तै संवेदनशील मार्केट भएकाले देशभर एकैपटक दोस्रो बजारमा कारोबार हुन नसक्ने उनले बताए । ‘लगानीकर्ताले सिक्दै जान्छन्, बजार विस्तार हुँदै जान्छ,’ उनले भने, ‘जुन प्रकारको विस्तार देखिएको छ, यो ठिक्क छ ।’ धितोपत्र बोर्ड र नेप्सेको सुपरीवेक्षण क्षमता कमजोर भएकाले पनि एकैपटक ठूलो अपेक्षा गर्न नहुने बोर्डका अध्यक्ष कार्कीले बताए ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउद प्राविधिक तथा नीतिगत सुधारकै कारण करिब ३ वर्षकै अवधिमा सेयर बजारको तीव्र विकास भएको बताउँछन् । ‘प्राविधिक सुधार पर्याप्त भयो भन्न खोजेको होइन तर जति भएको छ, त्यसको नतिजा देखिन थालेको छ,’ उनले भने, ‘पुँजीबजारको विकासको आधार तयार भइरहेको छ, आगामी केही वर्षमा यसले ठूलो फड्को मार्नेछ ।’
नेप्सेका अनुसार हाल केवाईसी अद्यावधिक गरेका लगानीकर्ताको संख्या २ लाखभन्दा अलि बढी छ । तीमध्ये दैनिक १३ हजार लगानीकर्ता सेयर कारोबारमा सहभागी हुने गरेका छन् । ‘दैनिक अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ९ हजार हाराहारी छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाबाहिरबाट कारोबार गर्नेको संख्या पनि निकै बढेको छ ।’
सीईओ साउद लगानीको प्रतिफल सुनिश्चितता, नियामक निकायप्रतिको विश्वास, जिल्लाबाहिर ब्रोकरका कार्यालय स्थापनालगायतका कारणले लगानीकर्ताको संख्या बढ्दै गएको बताउँछन् । ‘यससँगै पुँजीबजारमा नयाँ संस्था पनि धेरै थपिएका छन्,’ उनले भने, ‘हाइड्रोपावरमा स्थानीयलाई अनिवार्य सेयर दिने व्यवस्थाले पनि लगानीकर्ताको संख्या ह्वात्तै बढाएको छ ।’
जिल्ला–जिल्लामा ब्रोकर कार्यालय स्थापित हुने क्रम बढ्दै जाँदा जिल्लाको कारोबार भोल्युम पनि बढेको छ । गत वर्षसम्म जिल्लाको कारोबार काठमाडौंको १० प्रतिशत हाराहारी रहेकोमा यो वर्ष २० प्रतिशत हाराहारी हुने देखिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए । ‘जिल्लामा ब्रोकर कार्यालयको सक्रिय उपस्थितिले जिल्लाको कारोबार भोल्युम पनि बढेको हो,’ उनले भने ।
किन बढ्न सकेन त सेयर बजार ?
सेयर आपूर्ति चार गुणाभन्दा धेरैले बढेको बजारमा लगानीकर्ताको संख्या पनि ५ लाखले थपिँदा बजारमा केही सन्तुलन देखापर्नुपर्ने हो तर देखिएन । कारण, दैनिक कारोबार गर्ने लगानीकर्ताको संख्यामा भने खासै वृद्धि भएको छैन ।
बजार उकालो लाग्न नसक्नुको अर्को कारण ब्याजदर नै हो । उच्च ब्याजदरमा ऋण लिएर जोखिम मोल्न लगानीकर्ताले चाहिरहेका छैनन् । पैसा हुने लगानीकर्ता पनि सेयर बजारमा भन्दा बैंकमा बचत गरेर ढुक्कले राम्रो ब्याज खाइरहेका छन् । बैंकमा पैसा राख्दै राम्रो प्रतिफल पाइन्छ भने सेयर बजारमा कोही पनि जोखिम मोल्न चाहँदैन ।
त्यस्तै, ऋणपत्र अर्को कारण हो । ठूलो भोल्युममा उच्च ब्याजदरका ऋणपत्र जारी भएकाले ठूला लगानीकर्ता त्यता डाइभर्ट भएका छन् । चालू आर्थिक वर्षमा ८६ अर्बको ऋणपत्र जारी भएकोमा करिब २०-२१ अर्ब लगानी सर्वसाधारणको तर्फबाट भएको छ । १० प्रतिशत ब्याजदर पाउने गरी लगानी भएकाले अहिले सेयर बजार ठूला लगानीकर्ताको रोजाइमा पर्न सकेको छैन ।
प्रकाशित समय १२:५७ बजे

















