गृहपृष्ठ भारततर्फकाे १६ सीमा स्तम्भ गायबः भारतले दशगजामा सडक बनाउँदा हराएकाे हुनसक्ने
भारततर्फकाे १६ सीमा स्तम्भ गायबः भारतले दशगजामा सडक बनाउँदा हराएकाे हुनसक्ने
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत पाँचथर जिल्लातिर पर्ने १६ साना स्तम्भ गायब भएका छन् । सीमा अवलोकनका क्रममा साना स्तम्भ गायब भएको पाँचथर प्रहरीले जनाएको छ ।
उत्तर पूर्वमा पर्ने याङवरक गाउँपालिका–१ र २, फालेलुङ गाउँपालिका–३, ४ र ७ अन्तर्गतका भारतको सिक्किम र पश्चिम बंगाल राज्यको सीमाका स्तम्भ हराएका हुन् । जिल्लाको ४४ दशमलव ३८ किलोमिटर सीमा क्षेत्रमा ११३ स्तम्भ छन् । जसमध्ये १०३ साना स्तम्भमा १६ वटा गायब भएको पाँचथर प्रहरी प्रमुख डीएसपी वामदेव गौतमले बताए ।
१६ दिनसम्म गरेको अध्ययनमा ८७ स्तम्भ मात्र फेला परेको उनले बताए । १२ वटा स्तम्भको निशाना नै पत्ता लागेको छैन भने चारवटाको स्थान मात्र पत्ता लागेको प्रहरी जवान चन्द्रबहादुर चौहानले बताए । अन्य नौवटा जंगे (ठूला) र एउटा मझौला सीमा स्तम्भ भने फेला परेका छन् ।

याङवरक गाउँपालिका–२, तिम्बुङ पोखरीमा रहेको ३५ र फालेलुङ गाउँपालिका–७ सन्दकपुर आहालछेउको अन्तिम ५७/२ नम्बर सीमा स्तम्भ ।तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय, पाँचथर
फेला परेका सबै स्तम्भ मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेको छ । दुर्गम स्थानका स्तम्भ सामान्य र राम्रै अवस्थामा छन् । सडक पुगेको, चौंरीगाईको चरन क्षेत्र र पर्यटकहरूको अवागमन बढी हुने स्थानका स्तम्भहरू हराउनुका साथै जीर्ण भएका छन् ।
सीमा क्षेत्रमा रहेको पर्यटकीय स्थल फालोट क्षेत्रमा अन्तरिक तथा बाह्य पर्यटकहरूको अवागमन बढी हुने गर्छ । कतिपय पर्यटकले स्तम्भमा चढ्ने, हल्लाउने गर्दा भत्किने, हराउने र जीर्ण हुने गरेको याङवरक गाउँपालिका–१, च्याङथापुका मंगलबहादुर बेघाले बताए । चर्ने क्रममा चौंरीगाईहरू रगटिने कारणले पनि स्तम्भ जीर्ण बन्ने गरेका छन् ।
अवलोकन टोलीमा रहेका प्रहरी जवान चौहाने भने, ‘जीर्ण अवस्थामा रहेका कतिपय स्तम्भहरूमा हामीले चौंरीगाई रगटिएको निशाना र चौंरीगाईको रौंहरू भेटेका थियौं ।’
सीमा स्तम्भको दसगजावरपर दुवै पक्षले कुनै संरचना निर्माण गर्न नपाइने सन्धिमा उल्लेख छ । तर, भारतीय पक्षबाट सीमा स्तम्भ नै धरापमा पर्नेगरी सडक निर्माण गरेका कारण सीमा स्तम्भ जोखिममा छन् ।
याङवरक गाउँपालिका–२ तिम्बुङ पोखरीदेखि फालेलुङ गाउँपालिका–७ सन्दकपुर आहाल छेउसम्मको पाँचथर जिल्लाअन्तर्गतको सीमा क्षेत्रमा ३५ नम्बरदेखि ५७÷२ नम्बरसम्मका सीमा स्तम्भ छन् ।
कार्यालयको आन्तरिक अभिलेखलाई चुस्त, दुरुस्त राख्न पाँचथर प्रहरीले सीमाको अध्ययन अवलोकन गरेको थियो । भारतीय पक्षबाट नियमित रूपमा सीमा क्षेत्रको अनुगमन भए पनि नेपाल पक्षबाट त्यति हुने गरेको छैन ।
प्रकाशित समय ०८:३७ बजे

















