गृहपृष्ठ हावाहुरीबाट कृषि फार्ममा ३० लाखको क्षति

हावाहुरीबाट कृषि फार्ममा ३० लाखको क्षति

नेपालगन्ज- हावाहुरी र असिनाले बर्दियाको बाँसगढी नगरपालिका–२ बेलुवा बनमुडुवामा रहेको बेलुवा बहुउद्देश्यीय कृषि फार्मको ४ हजार ५ सय वर्गमिटरको ग्रिन नेट हाउस ध्वस्त भएको छ ।

कृषि फर्मका सञ्चालक लक्ष्मीराज अधिकारीले २१ वैशाखमा आएको हावाहुरीसहितको असिना पानीले आफूहरूलाई ठूलो क्षति पुर्याएको बताए । उनले भने, ‘दुई ठाउँमा निर्माण गरिएको ग्रिन नेट हाउस २ हजार ५ सय र २ हजारको गरी ४ हजार ५ सय वर्गमिटरको सबै ध्वस्त पारेको छ ।’

उनले ग्रिन नेट हाउस उडाएर फालिदिँदा फलेर बजारमा पठाउन तयार पारिएको काँक्रा, खुर्सानी, लौका, करेला र टमाटर सबै नष्ट भएको जानकारी दिए । उनले जनता मावि बेलुवा बर्दियाको ८ बिघा जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरु गरेका हुन ।

हावाहुरीले ध्वस्त पारेको ग्रिन नेट हाउसको मर्मत गरेर सञ्चालनमा ल्याउन र सो ग्रिन हाउसमा पुनः खेती गर्न आवश्यक बीउबिजनका लागि आफूहरूलाई ३० लाख जति आवश्यक पर्ने पनि उनको भनाइ छ । २८ लाखबाट काम गर्न सुरु गरेका उनीहरूको हालसम्म १ करोड बढी लगानी भइसकेको अर्का सञ्चालक लबेन्द्रविक्रम शाहीले जानकारी दिए । उनले ५ हजार लिटरको रिजर्भट्यांकीबाट थोपा सिँचाइ प्रविधिको प्रयोग गरेर व्यावसायिक कृषि फार्म सञ्चालनमा ल्याएको जानकारी दिए ।

व्यवसाय सञ्चालनका लागि साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले सुरुमा २९ लाख ७७ हजार ७ सय ३८ लगानी दिने सम्झौता भए पनि २३ लाख मात्र दिएपछि आफूहरूलाई थप आर्थिक भार परेकै बेलामा प्रकृतिले पनि आफूहरू माथि नै बज्रपात गरेको गुनासो गरे ।

हावाहुरीलगत्तै बाँसगढी नगरपालिका नगर कृषि शाखामा सम्पर्क गरीसकेको र नगरपालिका प्रमुख शालिकराम अधिकारीसहितको अनुगमन टोलीले अनुगमन र मुचुल्का उठाइसकेको छ । उनले सरकारले व्यावसायिक किसानलाई सहुलियत ऋण दिने तथा दैवी विपत्तिबाट नोक्सानी बेहोरेका किसानलाई उनीहरूको व्यवसाय सञ्चालनका लागि राहत उपलब्ध गराउनुपर्ने माग राखे ।

बेमौसमी तरकारी बजारमा पठाउन तयारी अवस्थामा हुँदै गर्दा एक्कासि आएको प्राकृतिक विपत्तिले आफूहरूलाई ऋणको भारी मात्रै थपिएको उनको गुनासो छ ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु