गृहपृष्ठ ‘घराना’ युवती बनेर भारतीय व्यवसायीको २३ लाख झ्वाम !
‘घराना’ युवती बनेर भारतीय व्यवसायीको २३ लाख झ्वाम !
उच्च घराना र सम्पन्न परिवारको व्यक्ति भन्दै ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको औरी नगरपालिका– ३ की २१ वर्षीया डायन सेकेन्डलाई ठगी आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौं नरेफाँटबाट शुक्रबार पक्राउ गरेको हो । डायनले भारत महाराष्ट्र पलबर रेलनगरका व्यवसायी श्रीपाल जैनलाई प्रलोभनमा पारी २३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
डायन रोज नामको फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट पठाएर साथि बनेपछि उनले जैनलाई आफू सम्पन्न परिवारको एक्ली छोरी भएको र आफ्नो परिवार व्यवसायिक पृष्ठभूमिको भएको भन्दै प्रलोभन देखाएकी थिइन् । प्रहरीका अनुसार डायनले सबै सम्पत्तिको हकदार पनि आफू भएको बताएकी थिइन ।
प्रलोभनमा परी नेपाल आएका जैन फर्कने क्रममा असार ६ गते १२ : ४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेपछि डायनले उनीसँग २३ लाख रकम लिइन् । आफ्नो बाबुले पठाएको बहुमुल्य सामान लिन ठूलो भन्सार रकम चाहिने भन्दै जैनसँग उनले सो रकम लिएकी थिइनु ।
त्यसपछि डायन सम्पर्कविहीन भएकी थिइन् । ठगिएको थाह पाएपछि जैनले महानगरीय प्रहरी अपराध महाशाखाका उजुरी दिएका थिए । प्रहरीले उनलाई नरेफाँटस्थित कोठाबाट २० लाख ८० हजारसहित पक्राउ गरेको छ । ठगी कसुरमा कारबाही थालिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय १९:३५ बजे

















