गृहपृष्ठ केरुङ-काठमाडौं रेलमार्गको जटिलताबारे बोल्यो चीन

केरुङ-काठमाडौं रेलमार्गको जटिलताबारे बोल्यो चीन

monorail_render_total सांकेतिक तस्बिर ।

रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न गएको यातायात सचिव देवेन्द्र कार्की नेतृत्वको टोलीसँग चीनले केरुङ-काठमाडौं रेलमार्गको जटिलताबारे जानकारी गराएको छ । रेलमार्गको डीपीआर तयार गर्नुअघि भौगर्भिक, पर्यावरणीय, प्राविधिक, वैज्ञानिक र प्राकृतिक आयामबाट हेर्नुपर्ने सुझाव चीनले दिएको हो ।

केरुङ–काठमाडौं रेलमार्ग बन्ने भूगोल निकै जटिल किमिसको रहेको भन्दै चीनले सुरुमा काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनीको काम अघि बढाउने संकेत गरेको वार्ताटोलीले जनाएको छ । चीनले दुई टेक्टोनिक प्लेटबीच पर्वतीय क्षेत्रमा सुरुङमार्गभित्र रेल चलाउनुपर्ने अवस्था कम जोखिमपूर्ण नभएको बताएको छ । प्राकृतिक प्रकोपबाट पनि सुरक्षित राख्ने गरी परियोजना अघि बढाउनुपर्नेमा चिनियाँ अधिकारी स्पष्ट देखिएका छन् । यसअघिका चारवटा बैठकमा पनि चीनले यसतर्फ संकेत गरेको भए पनि नेपाल पक्ष भने चीनका कुरा सुन्ने तर आफ्नो तर्फबाट गृहकार्य नगर्नेमै अल्झिएको छ । नेपालमा हुने पाँचौं सचिवस्तरीय बैठकमा भने नेपालले चिनियाँ चासो सम्बोधन हुने गरी तयारी गर्नुपर्ने जानकारहरु बताउाछन् ।

बैठकमा सहभागी अधिकारीका अनुसार काठमाडौं–पोखरा र काठमाडौं–लुम्बिनी रेलमार्गको प्रारम्भिक अध्ययनका विषयमा भने छलफल भएको छ । केरुङ–काठमाडौं रेलमार्ग बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा सूचीकृत छ । चीनले गरेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार केरुङ–काठमाडौं रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब खर्च हुन्छ । करिब ७३ किलोमिटर लामो रेलमार्गमा ९८ प्रतिशत पुल र सुरुङमार्ग हुने प्रारम्भिक अध्ययनले देखाएको छ ।

प्रकाशित समय ११:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु