गृहपृष्ठ विश्वकप क्रिकेट : भारतसँग फराकिलो हारसँगै वेस्टइन्डिज बाहिरियो
विश्वकप क्रिकेट : भारतसँग फराकिलो हारसँगै वेस्टइन्डिज बाहिरियो
भारतसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित हुँदै वेस्टइन्डिज एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।
२ सय ६९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रनमा समेटियो । वेस्ट इन्डिजका लागि ओपनर सुनिल एम्ब्रिसले सर्वाधिक ३१ रनको योगदान गरे । निकोलस पुरन २८, शिम्ररोन हिटमायर १८, केमर रोच १४ र शिल्डन कर्टेलले १० रन बनाए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि मोहम्मद शामीले ४ विकेट लिए । जसप्रित बुमराह र युजवेन्द्र चाहलले समान २–२ विकेट लिए भने हार्दिक पान्ड्या र कुलदीप यादवको नाममा पनि १–१ विकेट रह्यो ।
त्यसअघि म्यानचेस्टरमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै २ सय ६८ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले ७२ रनको योगदान दिए । उनी म्यान अफ द म्याच घोषित भए । ओपनर रोहित शर्माले १८ रन जोडे ।
अर्का ओपनर केएल राहुल ४८ रनमा बोल्ड आउट भए । विजय शंकर १४ रनमा क्याच आउट भए । केदार जाधव ७ रनमा क्याच आउट भए । छैटौं विकेटका लागि महेन्द्र सिंह धोनी र हार्दिक पान्ड्याले ७० रनको साझेदारी गर्दै भारतको पारी उकासे । धोनी ५६ रनमा अविजित रहे । हार्दिकले ४६ रनको योगदान दिए ।
वेस्ट इन्डिजका लागि केमर रोचले ३ विकेट लिए । जोसन होल्डर र शिल्डन कर्टेलले समान २–२ विकेट हात पारे । वेस्टइन्डिज लिग चरणबाटै बाहिरिने तेस्रो टिम बनेको छ । यसअघि अफगानिस्तान र दक्षिण अफ्रिका विश्वकपको लिग चरणबाटै बाहिरिइसकेका छन् ।
भारत भने सेमिफाइनल नजिक पुगेको छ । ६ खेलबाट ११ अंकसहित भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित समय ०७:३८ बजे

















