गृहपृष्ठ धान उत्पादनको लक्ष्य ७० लाख टन, असार १५ सम्म ८८ प्रतिशत रोपाइँ बाँकी
धान उत्पादनको लक्ष्य ७० लाख टन, असार १५ सम्म ८८ प्रतिशत रोपाइँ बाँकी
सरकारले धान उत्पादनमा यो वर्ष १५ लाख टनले वृद्धि गरी ७० लाख टन पु-याउने लक्ष्य लिएको छ । तर, असार १५ सम्म करिब १२ प्रतिशत धानखेतमा मात्र रोपाइँ भएको छ । गत वर्ष यो अवधिमा १५.०९ प्रतिशत रोपाइँ भएको थियो भने धान उत्पादन ५६ लाख टन हाराहारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
असार १५ सम्म पनि पानी पर्याप्त नपरेकाले यो वर्ष रोपाइँमा ढिलाइ भएको हो । मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईका अनुसार अन्नको भण्डार मानिने तराईमा जम्मा ९.५९ प्रतिशत रोपाइँ भएको छ । तराईमा १० लाख ९४ हजार ६३६ हेक्टरमा धान रोपाइँ हुनेमा मध्य असारसम्म १ लाख ५ हजार हेक्टरमा मात्र रोपाइँ भएको उनले जानकारी दिए ।
संघीयताको कार्यान्वयनसँगै सिँचाइ, मलखाद र बीउबिजन स्थानीय तहको पहुँचमा भएकाले उत्पादन वृद्धि हुने मन्त्रालयको अपेक्षा छ । तर, कृषकले खडेरी र मलखादको दुवैको समस्या झेलिरहेका छन् । सरकारले तामझामका साथ धान दिवस मनाइरहँदा सबैभन्दा बढी धान उत्पादन हुने झापा र रुपन्देहीदिख सुनसरी, इलाम, उदयपुर, बारा, काभ्रे, मकवानपुर, चितवन, बाँके, बर्दिया, दाङ, सुर्खेत र कञ्चनपुरसम्मका कृषक मल अभावको समस्यामा छन् ।
प्रकाशित समय ०९:२९ बजे

















