गृहपृष्ठ सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि संशोधन

पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था

सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि दोस्रोपटक संशोधन गरेको छ । रोजगारदाता तथा श्रमिकले उठाउँदै आएका मागलाई सम्बोधन गर्ने गरी कार्यविधि संशोधन गरिएको कोषले  जनाएको छ ।

संशोधित कार्यविधिमा औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना सुविधाका लागि योग्य हुन जम्मा गर्नुपर्ने योगदान रकम निरन्तर तीन महिना हुनुपर्ने प्रावधानलाई स्पष्ट गरिएको छ । अस्पताल भर्ना नभई उपचार गर्दा पाउने रकम उपयोग नगरेका वा कम उपयोग गरेकाहरूले सीमाभित्रको रकम अस्पताल भर्ना भई उपचार गर्दा थप हुने व्यवस्था मिलाइएको छ ।

मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताको पत्नी सुत्केरी भएपश्चात ६ हप्ताको उपचार खर्चसमेत पाउने गरी कार्यविधि संशोधन भएको छ । दुर्घटना तथा सुरक्षा योजनाअन्तर्गत अशक्तता वृत्तिको अधिकतम सीमा हटाइएको छ । आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत योगदानकर्ता विदेशी नागरिकको मृत्यु भएमा हकवालाले एकमुष्ठ सात लाख रुपैयाँसम्म पाउने भएका छन् ।

वृद्धभत्ता सुरक्षा योजनाअन्तर्गत जम्मा हुने योगदानकर्ताको आधारभूत पारिश्रमिकको २८.३३ प्रतिशत रकमलाई निवृत्तिभरण योजनामा २० प्रतिशत र अवकाश सुविधा योजनामा ८.३३ प्रतिशत रकम जम्मा हुने व्यवस्था गरिएको छ । निवृत्तभरण योजनामा जम्मा भएको कुल रकमलाई १८० ले भाग गरी मासिक रुपमा निवृत्तभरण दिने व्यवस्था भएकोमा १८० भाजकलाई १६० कायम गरी मासिक निवृत्तभरण रकम अधिक हुने सक्ने गरी व्यवस्था मिलाइएको छ । २०७८ असार मसान्तभित्र योगदान सुरु गर्ने योगदानकर्ताहरूले चाहेमा निवृत्तभरण अन्तर्गतको २० प्रतिशत रकमसमेत अवकाश सुविधा योजनामा जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ ।

अवकाश सुविधा योजनामा जम्मा भएको रकम अवकाश हुँदा वा जागिरबाट अलग हुँदा निकाल्न पाउने तथा जागिरमा हुँदै ८० प्रतिशतसम्म विशेष सापटीको रुपमा योगदानकर्ताले पाउन सक्ने गरी कार्यविधि संशोधन गरिएको छ ।

अवकाश सुविधा योजनाअन्तर्गत नियमित रुपमा ८.३३ प्रतिशत रकम जम्मा गर्ने व्यवस्थाका अतिरिक्त कुनै योगदानकर्ताले स्वेच्छिक रुपमा जम्मा गरेको रकम, अन्य अवकाश कोषबाट हस्तान्तरण भई आएको रकम योगदानकर्ताले चाहेमा न्यूनतम् आधारभूत पारिश्रमिकको तीन गुणाभन्दा बढी निवृत्तभरण योजनामा जम्मा हुने सीमाभन्दा बढीको रकम र ६० वर्ष उमेर पूरा भएका योगदानकर्ताको निवृत्तभरणअन्तर्गतको रकमसमेत अवकाश सुविधा योजनामा जम्मा हुने व्यवस्था गरिएको प्रवक्ता एवं उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिए ।

प्रकाशित समय १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु