गृहपृष्ठ सहारा मरभूमिमा जस्तै फ्रान्समा पनि अत्यधिक गर्मी
सहारा मरभूमिमा जस्तै फ्रान्समा पनि अत्यधिक गर्मी
हिजोआज युरोपमा गर्मी बढेर मानिस दिक्क भएका छन् । कतिपय स्थानमा मरुभूमिमा झैं गर्मी बढेको छ । शुक्रबार फ्रान्सको तापक्रम ४५ डिग्री सेल्सियसम्म पुगेको छ । सरकारहरूले नै त्यहाँ सतर्क रहन सुझाव दिन थालेका छन् । मानिसहरुले अधिकांश समय चिसो वा पानी भएको ठाउँमा बिताउन थालेका छन् ।
गर्मीक कारण युरोपमा मानिसहरूको ज्यान पनि गइसकेको छ । अत्यधिक गर्मीका कारण जंगलहरूमा आगो फैलिएको छ । बढी गर्मीले विमान र रेलको सञ्चालनसमेत प्रभावित भएको छ, विद्यालयहरू बन्द गरिएका छन् । हावाको स्वच्छताका सम्बन्धमा मानिसलाई सचेत गराउन थालिएको छ ।
शीतल स्थान मानिने युरोपमा तापक्रम यसरी बढ्नुको कारण खोज्न थालिएको छ । उत्तरी अफ्रिका, पोर्चुगल र स्पेनबाट आउने तातो वायुको दबाबका कारण उत्तरी युरोपको हावामा तापक्रम अझ बढ्दै छ । यसपालि पनि सहारा मरुभूमिबाट तातो हावा युरोप छिरेको छ । युरोपियन सेन्टर फर मिडियाम रेन्ज वेदर फोरकास्टका टिमोथी हेवसनले जुनमा युरोपको आकाश सफा हुनुलाई तापक्रम अझ बढ्ने संकेत मान्छन् ।
‘माटो सुक्खा हुनुको अर्थ वाष्पीकरण कम कम हुँदै छ,’ उनी थप्छन्, ‘पर्याप्त वाष्पीकरणले जमिन शीतल बनाउने काम गर्छ ।’ बेलायतको मौसम विभागका विशेषज्ञ ग्राम मेगडेका अनुसार सामान्यतया प्राकृतिक रूपमै तापक्रम तलमाथि हुने गर्छ । यसपालि भने औद्यौगीकरणका कारण पहिलेको तुलनामा एक डिग्री तापक्रम बढेको छ । यसकारण तापक्रम अझ बढ्न सक्छ ।
युरोप सबैभन्दा बढी ४८ डिग्री सेल्सियस तापक्रम जुलाई १९७७ को थियो । विगत २२ वर्षपछि बढी गर्मी हुन थालेको छ । विश्व मौसम संगठनका अनुसार सन् २०१५ देखि २०१८ पनि गर्मी बढेकै थियो ।
गत वर्ष पूरै युरोपमा तातो हावा चलेकामा वल्र्ड वेदर एट्रिब्युसन ग्रुपले एक अध्ययन गरेको थियो । यसमा मानवीय गतिविधिलाई जिम्मेवार ठह¥याइएको थियो । प्रतिवेदनअनुसार औद्योगिक गतिविधि यसैगरी चढ्ने हो भने सन् २०४० सम्ममा युरोपमा हरेक वर्ष गर्मीको समयमा यसरी नै तापक्रम बढ्ने छ । सन् २१०० सम्ममा तापक्रम ३ देखि ५ डिग्री सेल्सियससम्म बढ्न सक्छ ।
सामान्यतया तातो वायुलाई लु भनिन्छ । लु चल्नुको कारण तापक्रम तीन दिनमा सामान्यभन्दा पाँच डिग्री या त्योभन्दा बढी भएको हुन्छ । हेवसनका अनुसार रातिको तापक्रम, आर्द्रता र हावाको गतिले पनि यसमा भूमिका खेल्छ । तातो वायु बिस्तारै चल्दा बढी जोखिमपूर्ण हुन्छ ।
तातो वायुको असर ठूला सहरमा बढी हुन्छ । कंक्रिट र सिमेन्टबाट निर्मित भवन र पक्की सडक भएका स्थानमा तातो हावाको प्रभाव बढी हुन्छ । यसपालि पनि युरोपमा सन् २०१५ को जस्तै गर्मी भएको हेवसन बताउँछन् । त्यो समयमा युरोपको दक्षिणी र केन्द्रीय क्षेत्र लुको प्रकोपले त्रस्त थियो । जर्मनी र स्विटजरल्यान्डमा पनि अत्यधिक गर्मी रेकर्ड गरिएको थियो । तापक्रम सामान्यभन्दा माथि जाँदा सबैलाई असर पर्छ ।
अझ पानीको कमीले ऊर्जाको बढी खपत पनि बढ्छ । लुले पाका मानिस, बालबालिका, हृदय, किड्नी र दमका बिमारीलाई गम्भीर असर पर्न सक्छ । लु यस्ता मानिसका लागि प्राणघातक पनि हुन सक्छ । मानिसले शरीरभित्रको तापक्रम नियन्त्रण गर्न नसक्ने हुनाले हेवसनले लुलाई जोखिमपूण भनेका हुन् ।
मौसम विभागका मेडगेले रातिको तापक्रम २५ डिग्रीभन्दा कम भएन भने लु प्रभावित मानिसहरूलाई बढी असर पर्न सक्ने बताउँछन् । चिकित्सकहरूले यदि टाउको दुख्यो, भोक लागेन, रिङटा लाग्यो, बढी पसिना आयो वा स्वास बढ्यो भने सर्वप्रथम आफैंलाई शीतल बनाउनुपर्छ भनेका छन् ।
यदि मानिसका शरीरको तापक्रम ४० डिग्रीभन्दा बढी भएमा लु लागेको हुन सक्छ । यस्तो मानिसलाई उपचार आवश्यक हुन्छ । पसिना बग्न छाड्यो र स्वास फेर्न समस्या भए अझ खतरा हुन सक्छ । लुका कारण मानिस बेहोस हुन सक्छ । विभिन्न अंगमा असर देखिन सक्छ र त्यस्ता मानिसको मृत्यु हुने सम्भावना पनि हुन्छ ।
एक अध्ययनका अनुसार सन् २००३ को अत्यधिक गर्मीपछि पूर्व समयको तुलनामा ७० हजारभन्दा बढी मानिसको अकालमा ज्यान गएको छ । बर्सेनि ५० डिग्री सेल्सियस तापक्रम पुग्ने गर्मी हुने अस्ट्रेलिया र उत्तर अफ्रिका एवं मध्यपूर्वका देशहरूमा पनि यस्तो समस्या आउन सक्छ । अत्यधिक गर्मी हुने स्थानमा गर्मीबाट बच्ने आधारभूत व्यवस्था मिलाइएको भए पनि बढी गर्मीको सामना सबै ठाउँमा गर्नुपर्ने मेडगे बताउँछन् । (एजेन्सी)
प्रकाशित समय १६:०१ बजे

















