गृहपृष्ठ सामान्य प्रशासनमन्त्री पण्डितमाथि दुर्व्यवहार
सामान्य प्रशासनमन्त्री पण्डितमाथि दुर्व्यवहार
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितमाथि दुर्व्यवहार भएको छ । आदिवासी जनजाति युवा विद्यार्थीले सार्वजनिक कार्यक्रममै मन्त्री पण्डितमाथि दुर्व्यवहार गरेका हुन् ।
ललितपुरको जावलाखेलमा आयोजित आदिवासी जनजातिको बैठक स्थलमा प्रवेश गरेको युवाको एक समूहले मन्त्री पण्डितलाई कार्यक्रम स्थलमा बस्नै दिएनन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९औं सञ्चालक परिषदको बैठकको अध्यक्षताका लागि बोलाइएका मन्त्री पण्डित सार्वजनिक कार्यक्रम स्थलमा पुग्नै लाग्दा केही युवा कालोझण्डा लिएर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले ‘लालबाबु पण्डित राजीनामा दे’, ‘लोकसेवाको विज्ञापन खारेज गर’ लगायतका नारा लगाउँदै बैठकस्थलमै प्रवेश गरेर होहल्ला गरेपछि स्थिति भाँडिएको थियो ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि अंगरक्षकले मन्त्री पण्डितलाई भीडबाट सकुशल जोगाएर गाडी चढाएका थिए । मन्त्रीमाथि अपमान र हुलदंगा भएपछि बैठक स्थगित भएको आयोजकले जनाएको छ ।
प्रकाशित समय १२:०६ बजे

















