गृहपृष्ठ प्रदेश १ मा बाढीको कहर : १९ को मृत्यु, ८ जना बेपत्ता
प्रदेश १ मा बाढीको कहर : १९ को मृत्यु, ८ जना बेपत्ता
प्रदेश १ का विभिन्न जिल्लामा आएको बाढी पहिरोमा १९ जनाले ज्यान गुमाएका छन् । बाढी पहिरोका कारण प्रदेश एकको भोजपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा ३ जनाको मृत्यु भएको छ । झापा र उदयपुरमा २–२ जनाले ज्यान गुमाएका छन् भने सुनसरी र पाँचथरमा १ जनाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक किशोरकुमार दाहालका अनुसार बाढी पहिरोमा प्रदेश एकका ८ जना बेपत्ता छन् । इलाममा र मोरङमा ३–३ र झापाका र सुनसरीका १–१ जना बेपत्ता छन् । हालसम्म प्रकोपमा परेका १ हजार ९ सयलाई उद्धार गरिएको दाहालले जानकारी दिए ।
अविरल वर्षापतिको बाढीले मोरङमा ४ हजार २ सय ५१ जना विस्थापित भएका छन् । विस्थापितलाई खुला स्थानमा त्रिपाल टागेर राखिएको छ । विस्थापित हुने अधिकांश खोला किनारमा बसोबास गर्ने सुकुम्बासी परिवार छन् । प्रभावितलाई खानेपानी र खाद्यान्नको अभाव छ । १ हजार ४७ घर अझै डुबानमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार खिउंजूले जानकारी दिए ।
विराटनगर महानगरपालिकाको विभिन्न वडा डुबानमा परेका छन् । विराटनगरका १,२, ६, ७, ८, १२, १६,१९, कटहरी गाउँपालिका– २, शिशवनी जहदाको १, २, ३, ५, ७, रतुवामाई नगरपालिकाको वडा नं. १०, ग्रामथान गाउँपालिकाका ६, ७ उर्लाबारी नगरपालिकाको ८ र पथरी शनिश्चरे नगरपालिकाको ५ नं. वडा बाढीले बढी प्रभावित भएको खिउंजूले जानकारी दिए ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाढी पिडितहरुलाई हरेक स्थानीय तहमा गठन भएको विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापन कोष खडा गरी तत्काल राहत र क्षतिपूर्तिको प्रबन्ध गर्ने बताए । आइतबार बिहानदेखि पानी पर्न रोकिएको छ । अहिले मोरङका अधिकांश खोला तथा नदीनालामा पानीको बहाव घटेको छ ।
प्रकाशित समय १५:४६ बजे