गृहपृष्ठ स्वच्छ वातावरण महाअभियान शुरूः एक वर्षमा प्रदुषणमुक्त उपत्यका बनाइने
स्वच्छ वातावरण महाअभियान शुरूः एक वर्षमा प्रदुषणमुक्त उपत्यका बनाइने
काठमाडौं- सभामुख कृष्णबहादुर महराले स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ गरेका छन् ।
विश्व वातावरण दिवसको सन्दर्भ पारेर वन तथा वातावरण मन्त्रालयको पहलमा आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको सभामुख महराले उद्घाटन गरेका हुन् । काठमाडौंस्थित शंखपार्कको सडकमा झाडु लगाउँदै सभामुख महराले स्वच्छ वातावरण महाअभियानको शुभारम्भ गरे ।
सडक सफा गर्नुअघि आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए । ‘सरसफाइ आफूबाटै शुरु गरौं, एक–एक इकाईबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ,’ उनले भने, ‘सबै सरसफाइमा लागेपछि गाउँ, सहर र देश सबैतिर सफा हुन्छ र स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।’
नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने भन्दै सभामुख महराले योजना जस्तै कार्यान्वयनमा लागेर अभियान सफल बनाउन आयोजकलाई आग्रह गरे ।
सरसफाइ आम नागरिकको स्वास्थ्य, इज्जत, स्वस्थ र सबल जनशक्ति निर्माणसँग जोडिएको भन्दै उनले वातावरण दिवसकै दिनदेखि शुरु भएको अभियानले स्वच्छ देश निर्माणको यात्रालाई सफल बनाउने विश्वास व्यक्त गरे ।
सरसफाइ कार्यक्रम अन्तर्गत शंखपार्कबाट सडक छेउछाऊको फोहर उठाउँदै शुरु भएको सरसफाइ कार्यक्रम विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो । सरसफाइ कार्यक्रममा सभामुख महराका साथै वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी र उल्लेख्य सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रकाशित समय ११:५५ बजे

















