गृहपृष्ठ बजेटमाथि छलफल गर्न काँग्रेसकाे संसदीय दलकाे बैठक बस्दै

बजेटमाथि छलफल गर्न काँग्रेसकाे संसदीय दलकाे बैठक बस्दै

nepali congress

काठमाडौं- सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे पार्टीको आधिकारिक धारणा बनाउन कांग्रेसकाे संसदीय दलको बैठक  बस्दैछ ।  कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा केही वेरपिछ बैठक बस्न लागिएकाे कांगेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

बजेटलगायत विषयमा छलफल गर्न पार्टी संसदीय दलको बैठक आज बस्न लागेको हो । सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत भएको थियो ।  बजेटबारे मिश्रित प्रतिक्रिया आएका छन् । बजेटबारे कांग्रेसले शुरूमै असन्तुष्टि जनाइसकेको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अन्तिममा कांग्रेसले मौन समर्थन जनाएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले हिजो संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटबारे प्रारम्भिक प्रतिक्रिया दिँदै उनले भनेका थिए ‘करको बोझ बढाएर उत्पादकत्व बढ्छ भन्ने कुरा सही होइन ।’

सोही पार्टीका नेता डा मीनेन्द्र रिजालले बजेट सुन्दा दिउँसै सपना देखेको जस्तो लागेको बताउँदै सबै सरकारको हिस्सा जोड्दा बजेटको आकार ठूलो भएको, केन्द्र सरकारले उठाउने राजस्वबारे मात्रै उल्लेख भएर आएको तथा राजस्व संकलनको स्पष्ट मार्ग नदेखिएको बताएका छन् ।

उनले भनेका छन्, ‘विगतमा करीब २०/२२ प्रतिशतको हाराहारीमा राजश्व उठेकामा नौ सय ४५ अर्बको राजश्व उठ्न गाह्रो हुन्छ, उठाउनुस् हाम्रो शुभकामना छ, विदेशी सहयोग र ऋण भनेजति आउने सम्भवना पनि छैन ।’ काँग्रेसकै नेता गगन थापाले सरकारको नीति, कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको प्रतिकृया दिएका छन् ।

प्रकाशित समय १०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु