गृहपृष्ठ राजसंस्थाप्रति प्रधानमन्त्रीको टिप्पणी- चिहानमा हड्डी फुकेजस्तो
राजसंस्थाप्रति प्रधानमन्त्रीको टिप्पणी- चिहानमा हड्डी फुकेजस्तो
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । आइतबार संसदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘राजतन्त्र फर्कन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको हो, त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ।’
सरकारको उदारताका कारण केही तत्व बढ्ता हौसिएको उनको टिप्पणी छ । तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु, प्रतिगमन गर्छु भनिए मान्य नहुने उनले चेतावनी दिए । ‘मान्छेहरू जुन संस्था र शक्तिका कुरा गर्छन्, ती शक्तिहरु ज्युँदो हुँदा हामीले ठेगान लगाएका हौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने परिकल्पना गरेर पनि उफ्रिएको देखिन्छ ।’ राजसंस्थाका विषयमा कुरा गर्नु बेमौसमको बाजा भएको उनको तर्क छ ।
सरकार जिम्मेवारीबाट भाग्दैन
प्रधानमन्त्री ओलीले जनताको दिएको जिम्मेवारीबाट सरकार नभाग्ने बताए । लोकतन्त्रप्रति सरकारको निष्ठामा अनावश्यक भ्रम नफैलाउन उनले चेतावनी पनि दिए । ‘सरकार जनताको निरासामा टेकेर वा एउटा भल छोपेर बनेको होइन,’ उनले भने, ‘पार्टीले अगाडि सारेको नीतिमा विश्वास गरेर जनताले सरकार गठन गर्ने आदेश दिएका हुन्, कुनै भावावेशमा होइन ।’
लोकतन्त्रका लागि आफूहरुको त्याग तपस्या अरुको भन्दा कम नभएको प्रधानमन्त्रीको तर्क छ । ‘कतिपयले भनेको सुनेको छु– पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेर बसेको छ तर आगामी निर्वाचनपछि मलाई पनि बस्न मन छैन, निर्वाचनसम्म धैर्य गर्नुस्,’ उनले भने ।
प्रकाशित समय १२:४१ बजे

















