गृहपृष्ठ पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई हरायो
पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई हरायो
श्रीलंका न्युजिल्याण्डसँगको दुई खेलको टेस्ट सिरिजको पहिलो खेलमा विजयी भएको छ । २ सय ६८ रनको लक्ष्य श्रीलंकाले अन्तिम दिन ४ विकेट गुमाएर भेट्टाएको हो ।
दिमुथ करुणारत्नेले १ सय २२ रनको योगदान गरे । लाहिरु थिरिमानेले ६४, एन्जेलो म्याथ्युजले २८ रन र कुशल परेराले २३ रन जोडे । यसअघि ब्याटिङ रोजेको न्युजिल्याण्डले पहिलो इनिङमा २ सय ४९ रन बनाउँदा सबै १० विकेट गुमाएको थियो । रस टेलरले सर्वाधिक ८६ रनको योगदान गरेका थिए । न्युजिल्याण्डको पारी धराप पार्ने क्रममा अकिला धनञ्जयले ५ र सुरंगा लकमालले चार विकेट लिएका थिए ।
श्रीलंकाले आफ्नो पहिलो इनिङमा २६७ रन बनाउँदा अलआउट भएको थियो । कुशल मेन्डिस, एन्जेलो म्याथुज र निरोशन डिकवेलाले अर्धशतक प्रहार गरेका थिए । न्युजिल्याण्डका लागि अजाज पटेलले ५, विलियम समरभिलले ३ र ट्रेन्ट बोल्टले २ विकेट लिएका थिए ।
न्युजिल्याण्डले दोस्रो इनिङमा २ सय ८५ रन बनाउँदा अलआउट भएको थियो । वाट्लिङले सर्वाधिक ७७, टम लाथमले ४५ र विलियम समरविलले ४० रन बनाए । श्रीलंकाका लसिथ इमबुलदेनियाले ४, धनञ्जय डि सिल्भाले ३, लाहिरु कुमाराले २ र अकिला धनञ्जयले १ विकेट लिए ।
दोस्रो टेस्ट अगस्ट २२ देखि हुनेछ । टेस्ट सिरिजपछि श्रीलंका र न्युजिल्याण्डले ३ टी–२० खेलको सिरिजमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रकाशित समय १५:५७ बजे

















