गृहपृष्ठ नवरात्रको पाँचौं दिन आज स्कन्धमाताको आराधना गरी दसैं मनाइँदै
नवरात्रको पाँचौं दिन आज स्कन्धमाताको आराधना गरी दसैं मनाइँदै
वडा दसैंको पाँचौं दिन आज स्कन्धमाताको आराधना गरिँदै छ । देशभरका शक्तिपीठमा भगवती स्कन्धमाताको पूजा आराधनाका लागि भक्तजनहरुको घुइँचो लागेको छ ।
नवरात्रको पाँचौं दिन महामायाको पाँचौं स्वरुप भगवती स्कन्दमाताको संकल्पबद्ध भएर आराधना गर्ने गरिन्छ । सांसारिक मोहमा ग्रस्त भएका जीवहरुको उद्धार गर्ने भगवतीको अवतार स्कन्दमाता हो । नवरात्रको पञ्चमीको दिनमा स्कन्दमाताले अवतार ग्रहण गरेकोे विश्वास रहिआएको छ ।
माता सम्पूर्ण प्राणीमा भावअनुसारको फल प्रदान गर्नुहुन्छ । भगवतीको सात्विक भावावतारको रुपमा रहेकी माताको उपासना गर्दा इन्द्रियहरुलाई संयम राखी धैर्य एवं प्रेमपूर्वक निर्विकार शक्तिको चिन्तन गर्नुपर्छ । चिन्तनमा तलमाथि भएमा मानसिक विचलन आउन सक्छ । भक्तको अभिलाषा पूरा गर्ने स्कन्दमाताले भक्तलाई अत्यन्त शुभ फल प्रदान हुनेछ । योग विज्ञानका अनुसार यस दिनमा साधकको ध्यान विशुद्ध चक्रमा केन्द्रित हुन्छ ।
काठमाडौंको गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, शोभाभगवती, नक्साल भगवती, भद्रकालीलगायतका देवीका शक्तिपीठ तथा धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, सप्तरीको छिन्नमस्ता, गोरखाको मनकामना, पोखराको विन्ध्यावासिनी मन्दिरहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।
नवरात्रका ९ दिनमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
प्रकाशित समय ०६:५२ बजे

















