गृहपृष्ठ पर्यटनमा उत्साह
पर्यटनमा उत्साह
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले हालै सार्वजनिक गरेको विवरणअनुसार सन् २०१८ मा पर्यटक आगमन वृद्धिका आधारमा नेपाल पहिलो स्थानमा परेको छ । सन् २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या २४.८ प्रतिशतले बढेको हो । टर्की, भियतनाम, निकारागुवा र कोरिया नेपालभन्दा पछि छन् । सन् २०१९ को जनवरीदेखि सेप्टेम्बरसम्ममा ८ लाख ३१ हजार ६८१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो गत वर्षको भन्दा ७.६ प्रतिशत धेरै हो । सन् २०१८ को पहिलो ९ महिनामा ७ लाख ७२ हजार पर्यटक नेपाल आएका थिए । पर्यटनको मुख्य सिजन अक्टुबरदेखि नोभेम्बरसम्ममा ठूलो मात्रामा पर्यटक भित्रिने गर्छन् ।
सेप्टेम्बरमा मात्र ८९ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमा ठूलो हिस्सा चिनियाँ पर्यटकको पनि छ । चिनियाँ राष्ट्रपति सि चिनफिङको हालै सम्पन्न नेपाल भ्रमणका कारण चिनियाँ पर्यटकको नेपाल आगमनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । विगतका तथ्यांकले पनि हरेक वर्ष नेपाल घुम्न चाहने चिनियाँको संख्या बढ्दै गएको देखाउँछ । गत वर्ष अघिल्लो वर्षको तुलनमा १० प्रतिशत धेरै चिनियाँ नेपाल आएका थिए ।
चीनको नेपाल नीति र नेपालसँगको रणनीतिक साझेदारीका सवालले उच्च प्राथमिकता पाइरहँदा अमेरिकालगायत पश्चिमा मुलुकहरुको नेपाल दृष्टि थप चनाखो भएको छ । नेपालसँग सामाजिक, सांस्कृतिक रुपमा बलियोसँग जोडिन बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) प्रमुख माध्यम हुने चिनियाँ उच्च नेताहरुको अभिव्यक्ति र चिनियाँ राष्ट्रपति सिको नेपाल भ्रमण उनीहरुका लागि चिन्ताको विषय बनेको स्पष्ट हुन्छ र यो उजागर पनि भइसकेको छ । राजनीतिक र कूटनीतिक विषयलाई एकछिन पर राख्ने हो भने सडकमार्ग र रेलमार्गमार्फत नेपाल हुँदै दक्षिण एसियामा प्रभुत्व जमाउने चिनियाँ अभीष्ट नेपालमा उच्च पर्यटक आगमन वृद्धिको मुख्य आधार बन्नेमा दुबिधा छैन । विभिन्न कारणले अमेरिकी, युरोेपेली, भारतीय र चिनियाँ पर्यटक ठूलो मात्रामा नेपाल भित्रिनेछन् ।
तथ्यांकअनुसार ६ करोडभन्दा बढी चिनियाँ बर्सेनि विभिन्न मुलुकको भ्रमणमा निस्किने गरेका छन् । त्यसको एक प्रतिशत मात्र नेपालतर्फ मोडिने हो भने करिब ६ लाख चिनियाँ नेपाल आइपुग्छन् । राष्ट्रपति सिको भ्रमणले यो सम्भावनालाई बलियो बनाइदिएको छ ।
हिमाल, पहाडदेखि धार्मिक स्थलसम्मको भ्रमणका लागि लालायित हुने विदेशी पर्यटकको आगमन बढ्दै जाँदा नेपालले पर्यटन पूर्वाधारलाई कति प्राथमिकता दिएको छ, त्यो अहं प्रश्न हुनेछ । ग्रामीण पर्यटनका लागि होमस्टेलाई विशेष प्राथमिकता दिइरहेका बेला पाँच तारेदेखि पर्यटक स्तरसम्मका होटलको अकुपेन्सी क्षमता कति छ ? विदेशी पर्यटकको रुचीअनुसारका वस्तु तथा सेवा प्रदान गर्न नेपाल कति तयार छ या सक्षम छ ? उदाहरणका लागि चिनियाँ नागरिक सपिङका सौखिन छन् । नेपालले चिनियाँ नागरिकको आगमन बढ्ने सम्भावनालाई मध्यनजर गर्दै अपेक्षाअनुसारका ‘प्रडक्ट’ उत्पादनमा कति ध्यान दिने ? भारतीय नागरिकलाई के बेच्न सकिन्छ ? अमेरिकी र पश्चिमाहरुको सर्वाधिक रुचीको विषय के हो ? यसमा नेपालले विशेष ध्यान दिन जरुरी छ ।
पाँच वर्षका लागि करिब दुई तिहाइ बहुमत प्राप्त दलले सरकार सञ्चालन गरिरहँदा विश्वभर प्रवाह भइरहेको सकारात्मक सन्देशबाट बहुआयामिक फाइदा लिन नेपाल आफैं अग्रसर हुनुपर्छ । विश्व महाशक्तिको दौडमा होमिएको चीनले उच्च प्राथमिकता दिइरहँदा नेपालले दीर्घकालीन महत्वका नीति निर्माण गरी भौगोलिक, सामाजिक-सांस्कृतिक र धार्मिक सम्पन्नताको ‘म्यासेज’ विश्वव्यापी रुपमा दिनसक्नुपर्छ । भ्रमण वर्ष २०२० को तयारीमा जुटेको नेपाललाई पर्यटनको मार्गमार्फत समृद्धिको यात्रामा निस्कन सहज पनि हुनेछ ।
यो पनि पढ्नुहोस्
पर्यटक आगमन वृद्धिका आधारमा नेपाल पहिलो नम्बरमा
प्रकाशित समय ०९:२६ बजे

















