गृहपृष्ठ कस्टम यार्ड साँघुरो भएपछि बुधनगर-कटहरी रेगमार्ग तत्काल सञ्चालन गर्न समस्या

कस्टम यार्ड साँघुरो भएपछि बुधनगर-कटहरी रेगमार्ग तत्काल सञ्चालन गर्न समस्या

भारतबाट मोरङको बुधनगरसम्म रेलमार्ग निर्माण भइसकेको छ । रेलमार्ग हुँदै सामान आउन थालेपछि सडकको ८० प्रतिशत चाप बुधनगरस्थित कस्टम यार्डमा सर्नेछ । कस्टम यार्ड साँघुरो भएका कारण सामान लोड/अनलोड गर्न तथा पार्किङको समस्या हुने देखिएको छ ।

नेपालको पहिलो बिन्दु बुधनगरको कस्टम यार्ड साँघुरो हुँदा तत्कालै कार्गोबाट सामान आयात–निर्यात गर्न सकिने अवस्था छैन । आसपासमा उपलब्ध खाली जग्गा अधिग्रहण गरी कस्टम यार्ड क्षेत्र नबढाएसम्म नेपालमा मालवहाक रेल आउन प्राविधिक हिसाबले पनि कठिन हुने भएको छ ।

बुधनगरको कस्टम यार्डमा खाली कन्टेनरसमेत लगेर राख्ने ठाउँ नरहेको उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले बताए । ‘कस्टम यार्ड निर्माणले हामी निकै उत्साहित छौँ । तर, पछि गएर मालवहाक रेल आउँदा समान लोडिङ/अनलोडिङ र पार्किङ समस्या आउने देखिएको छ,’ उनले भने, ‘यसलाई सरकारले तत्काल व्यवस्थापन गनुपर्ने देखिन्छ । अन्यथा यत्रो ठुलो योजनाको अर्थ छैन ।’

अहिले बनेको यार्डमा थोरै संख्यामा मात्र कन्टेनरहरु राख्न सकिने अवस्था छ । कार्गो रेलले एकैपटक सयौँको संख्यामा कन्टेनरहरु ल्याउँछ । बुधनगरदेखि कटहरीसम्म रेलवे लाइन विस्तारको काम भइरहेको र कटहरीमा पनि यार्ड बन्ने भएकाले तत्काल बुधनगरमा विस्तार नगर्ने हो कि भन्नेमा सरकार अलमलिएको देखिन्छ । उद्योगी बोहरा भने सरकारले तत्काल यार्ड विस्तार गर्ने प्रकृया अघि बढाउनु पर्नेमा जोड दिन्छन् ।

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलले यस विषयमा भन्सार विभागलाई जानकारी गराइसकेको बताए । उनले भने, ‘अहिलेको यार्डसँगै जोडिएको पूर्व तर्फको जग्गा अधिग्रहण गरेर यार्ड बिस्तार गर्न सकिने सम्भावना पनि देखिएको छ । हामीले यही कुरा विभागमा जानकारी गराएका छौँ ।’

रेल सञ्चालनका लागि सबै पूर्वाधार तयार भइसके पनि विराटनगर भन्सार कार्यालयले नै बुधनगरको यार्ड विस्तार गर्नुपर्ने सुझाव दिएकाले विभागले सोहीअनुसार योजना बनाउने उनले बताए । ‘हामीले विभिन्न कोणबाट त्यसको अध्ययन गरेका छौँ,’ उनले भने, ‘सोही अध्ययनका आधारमा सम्भवत छेउकै जग्गा अधिग्रहण गरेर विभागले यसको समाधान गर्ला भन्ने लागेको छ ।’

विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत भन्सार जाँच पास चौकी (आइसिपी) भन्सार विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । त्यससँगै आइसीपीमा चेकजाँचपछि मालवहाक ट्रक सोही मार्ग हुँदै विराटनगर गन्तव्यसम्म पुग्नेछन् । कार्गो रेलबाट सोझै नेपालसम्म सामान ढुवानी गर्ने सपना भने यार्ड साँघुरो भएकै कारण तत्काल पुरा नहुने भएको छ । यसतर्फ सरकारले चाँडो चासो दिएर जग्गा मुआब्जाको प्रक्रिया सुरु गर्नुपर्ने उद्योगी व्यवसायीको माग छ ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु