गृहपृष्ठ विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोगसम्बन्धी सम्झौता
विश्व बैंकसँग १६ अर्ब ३७ करोड सहयोगसम्बन्धी सम्झौता
विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ । युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि दुई अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो ।
अर्थ मन्त्रायलमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव राजन खनाल र नेपालका लागि विश्व बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त रूपमा कार्यान्वयन गर्नेछन् ।
कार्यक्रममार्फत मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिनेछ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइनेछ । त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गरे । (रासस)
प्रकाशित समय १८:२६ बजे

















