गृहपृष्ठ शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीलाई दिवा खाजा
शैक्षिक गुणस्तर सुधारका लागि विद्यार्थीलाई दिवा खाजा
खस्कँदै गएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय तहले विद्यार्थी केन्द्रित कार्यक्रम बनाउन थालेका छन् । जिल्लामा ६ वटा स्थानीय तह रहेको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यार्थीहरुलाई नियमित विद्यालय उपस्थित गराउनका लागि दिवा खाजाको व्यवस्था गरेको छ ।
विद्यार्थीहरुलाई नियमित बिद्यालय उपस्थित गराउन तेह्रथुमको आठराई गाउँपालिकाले सञ्चालन गरेको दिवा खाजा कार्यक्रम प्रभावकारी बन्न थालेकोे स्थानीयले जनाएका छन् ।
चालु आर्थिक वर्षवाट सुरु गरिएको यो कार्यक्रमले गाउँपालिका भित्र रहेका ५६ वटा सामुदायिक विद्यालयका ५ कक्षासम्मका विद्यार्थीहरुलाई दिवा खाजा कार्यक्रमले यत्तिबेला उनीहरुको शैक्षिक विकासमा समेत टेवा पुगेको छ ।
दिवा खाजा सञ्चालनका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट विनियोजन गरेको आठराई गाउँपालिकाका अध्यक्ष मान वहादुर लिम्वुले जानकारी दिए ।
उनले भने, ‘विद्यालयमा विद्यार्थीहरु घण्टौँ धाएर आउनुपर्ने अवस्था छ । बिहानै स्कुल हिँडेका विद्यार्थी विद्यालय छुट्टी भएर अवेर मात्र घर पुग्नुपर्ने समस्या पनि छ । यसै कारणले धेरै विद्यार्थी स्कुल नियमित नआउने गरेको पाइयो । त्यसैले खाजाको व्यवस्था गरेका हौँ ।’
गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि विद्यालयमा अध्ययन अध्यापनमा समेत सहज भएको महेन्द्रदोय आधारभूत विद्यालय थोक्लुङका प्रधानाध्यापक नन्द तामाङले बताए ।
‘खाजाको व्यवस्था गरिएपछि पहिले बिहान बासीभात मात्र खाएर आएको छु भन्दै विदा माग्ने विद्यार्थीहरु पनि अहिले विद्यालय समय अवधिभर बस्न थालेका छन् ।’ उनले भने, ‘दिवा खाजा कार्यक्रमले विद्यार्थीको अध्ययन नियमित भएको छ । यसले शैक्षिक गुणस्तरमा समेत सुधार हुँदै आएको छ ।’
गाउँपालिकाले हाजिरीको आधारमा कक्षा १ देखि ५ सम्मका प्रत्येक विद्यार्थीलाई खाजा वापत २० रुपैया उपलब्ध गराउँदै आएको छ । उक्त रकम विद्यार्थीले पाउने भएपछि आफ्ना नानीहरुलाई दैनिक रुपमा खाजाको व्यावस्थापन हुन थालेको अभिभावकहरुले बताएका छन् ।
खाजा पाएपछि विद्यार्थीहरु मन लगाएर पढ्ने, जोस जाँगरका साथ अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेको स्थानीय अभिभावक रामबहादुर लुम्बाले बताए । गाउँपालिका क्षेत्र भित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन भए पश्चात् निजी विद्यालयहरुमा विद्यार्थी संख्या दिन प्रतिदिन घट्दै गएको र सामुदायिक विद्यालयहरुमा वढ्ने गरेको पाइएको छ ।
खाजा कार्यक्रमलाई प्रभावकारी बनाउनका निम्ति स्थानीय सामाजिक संस्था देउराली सोसाईटीले विभिन्न विद्यालयका विद्यार्थीहरुलाई खाजा खाने टिफिन बट्टा समेत वितरण गरेको छ । हाल सो गाउँपालिकामा सञ्चालित दिवा खाजा कार्यक्रमले विद्यार्थीहको शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको गाउँपालिकाका लिम्वुले दावी गरेका छन् ।
प्रकाशित समय १०:५४ बजे
















