गृहपृष्ठ जनकपुरमा दाइजो प्रथालाई चुनौती दिँदै १०८ जोडीको आदर्श विवाह

जनकपुरमा दाइजो प्रथालाई चुनौती दिँदै १०८ जोडीको आदर्श विवाह

मुख्यमन्त्रीले नवविवाहित जोडीलाई सम्मान गर्ने

bibaha panchami

तराइ/मधेसमा दाइजो प्रथाले जडा गाडेका बेला जनकपुरधामकै रामजानकी मडवा (मणि मण्डप) मा १०८ जोडीको सामूहिक विवाह गरिएको छ । विश्व हिन्दु परिषद्को अगुवाइमा दाइजो प्रथाविरुद्ध सामूहिक रुपमा आदर्श विवाह आयोजना गरिएको हो । विवाहका लागि मणि मण्डपमा सामूहिक रुपमा स्वयंवरका लागि पण्डाल निर्माण गरी १०८ वटा नै मण्डप बनाइएको थियो ।

विवाहको खर्च चन्दा उठाएर जुटाइएको विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष कासिन्द्र यादवले बताए । जन्तीको खानपान, बेहुलाबेहुलीको सरसमान, बेहुलीलाई सुनको मंगलसुत्रलगायतका सामानको व्यवस्थापन गरिएको छ । हिन्दु परिषद्ले गरेको आह्वानमा बेहुलाबेहुली पक्षले विवाहका लागि फाराम भरेका थिए । कानुनअनुसार केटाकेटीको विवाह गर्ने उमेर पुगेको हुनुपर्ने सर्त राखिएको थियो ।

सामूहिक विवाहका लागि माग गरिएको आवेदन फाराममा वर र बधुको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको विश्व हिन्दु परिषद् नेपालको भ्रातृ संगठन सन्त मार्गदर्शन मण्डलका सहसंयोजक महन्थ लक्ष्मण दासले जानकारी दिए ।

विवाहअघि १०८ जोडीलाई जनकपुर नगर परिक्रमा गराइएको छ । यसैबीच, प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार मुख्यमन्त्रीले नवविवाहिताहरुलाई सम्मान गर्ने भएका छन् ।

यो पनि पढ्नुहोस्

दाइजो प्रथा हटाउन विवाहपञ्चमी महोत्सवमा १०८ जोडीको विवाह गरिँदै

प्रकाशित समय ०७:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु