गृहपृष्ठ आज पनि नेपालले पदकको आशा गरेका खेलहरू हुँदै

आज पनि नेपालले पदकको आशा गरेका खेलहरू हुँदै

१३औँ दक्षिण एसियाली खेलकुद (साग)को तेस्रो दिन मंगलबार पनि नेपालले पदककाे अपेक्षा गरेको खेलहरू हुँदैछन् । मंगलबार हुने तेक्वान्दो, कराँते, उसु र एथ्लेटिक्समा नेपालले स्वर्णको अपेक्षा गरेको खेलहरू हुन् ।

आज नेपालले फुटबल, क्रिकट र भलिबलमा पनि प्रतिस्पर्धा गर्दैछ । पुरूष फुटबलतर्फ घरेलु टोली नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे हुनेछ । महिला फुटबल पनि मंगलबारदेखि नै पोखरामा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्दैछ ।

कीर्तिपुरस्थित टीयू मैदानमा सुरु हुने क्रिकेटको पहिलो खेलमा नेपालले श्रीलंका यू-२३ सँग प्रतिस्पर्धा गर्दैछ । पुरूष क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन् । सन् २०१० मा ढाकामा भएको ११औँ सागमा समावेश भएको क्रिकेट ९ वर्षपछि पुनरागमन भएको हो । सागमा पहिलोपटक समावेश गरिएको महिला क्रिकेट सोमबारदेखि नै पोखरामा सुरु भइसकेको छ ।

भलिबलमा पुरूष र महिलातर्फको फाइनल खेल पनि मंगलबार नै हुँदैछ । ४ बजे पुरूष फाइनलमा भारत र पाकिस्तानबीच खेल हुनेछ । नेपालको पुरूष टोली भने समूह चरणबाटै बाहिरिसकेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने फाइनलमा महिलातर्फ घरेलु टोली नेपालले दिउँसो २ बजे भारतसँग स्वर्णको लागि खेल्नेछ ।

महिला फुटबल प्रतियोगिता भने पोखरामा सुरु हुँदैछ । महिला फुटबल प्रतियोगिताको पहिलो दिन मंगलबार आयोजक राष्ट्र नेपालले श्रीलंकासँग भिड्दै छ । एथ्लेटिक्सका खेलहरू पनि दशरथ रंगशालाको ट्रयाकमा मंगलबारदेखि सुरु हुने तय भएकाे छ ।

यसबाहेक सोमबार नेपालले ७-७ स्वर्ण जितिसकेकाे कराँते र तेक्वान्दोका बाँकी खेल पनि मंगलबार हुनेछ । उसुका खेल पनि आजदेखि नै सुरु हुनेछन् ।

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु