गृहपृष्ठ नवनिर्मित विद्यालय भवन हस्तान्तरण

नवनिर्मित विद्यालय भवन हस्तान्तरण

बेलकोटगढी नगरपालिका-७ रातमाटेस्थित सरस्वती आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ भवन सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ऋण सहयोगमा नेपाल सरकार, जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) ले १ करोड ४० लाख रुपैयाँ लागतमा बनाएको चारकोठे बहुविपद् प्रतिरोधी भवन प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले विद्यालयलाई हस्तान्तरण गर्दै सामुदायिक विद्यालयमा व्यवस्थित भवन, दक्ष शिक्षक, पुस्तकालय, प्रयोगशालालगायष्त सुविधा सम्पन्न सेवा भए पनि निजी विद्यालयमा सन्तान पढाउन आकर्षित हुने अभिभावककै कारण शिक्षाको गुणस्तर खस्केकामो चिन्ता व्यक्त गरे ।  उनले नयाँ भवन निर्माण भएसँगै विद्यार्थी संख्या र शिक्षाको गुणस्तर बढाउनका लागि अभिभावकलाई जिम्मेवार बन्न आग्रह गरे ।

बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले नगरपालिकासँग दरबन्दी मौजुदा रहेकाले विद्यार्थी संख्या बढाउने विद्यालयलाई मागअनुसार शिक्षक उपलब्ध गराइँदै आएको जानकारी दिए । उक्त अवसरमा विद्यालय परिसरमा निर्मित सरस्वती मन्दिरको नगरपालिकाको शिक्षा समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष हेमनिधि नेपालले उद्घाटन गरे ।

साढे चार वर्षअघिको भूकम्पले भवनमा क्षति पुगेपछि टहरामा अध्ययन गर्दै आएका विद्यार्थीका लागि बनाइएको नयाँ भवन जाइकाको ऋण सहयोगका भ्याली/गौरा जेभी कन्स्ट्रक्सनले निर्माण गरेको हो । उक्त निर्माण व्यवसायीले सम्झौता अवधिभन्दा ७७ दिन पहिला नै काम सम्पन्न गर्दै विद्यालय हस्तान्तरण गरेको प्रधानाध्यापक लूरामणि पुडासैनीले जानकारी दिए । एकाइका आयोजना प्रमुख दीनानाथ गौतमका अनुसार नुवाकोटका ४५३ सामुदायिक विद्यालयमध्ये अधिकांश पुनर्निर्माणको प्रक्रियामा समावेश भइसकेकाले एक वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखिएको छ । (रासस)

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु