गृहपृष्ठ १३औँ साग : ब्याडमिन्टनमा नेपालको प्रदर्शन ‘बिर्सनलायक’
१३औँ साग : ब्याडमिन्टनमा नेपालको प्रदर्शन ‘बिर्सनलायक’
तेह्रौं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत आज भएको ब्याडमिन्टनको व्यक्तिगत स्पर्धामा नेपालको प्रदर्शन ‘बिर्सनलायक’ रह्यो । कुनै खेलाडीको प्रदर्शन उल्लेख्य रहेन ।
फलतः दिपेश धामी, नङ्शाल तामाङ र रसिला महर्जन पहिलो चरणबाटै बाहिरिए । पोखरा रंगशालास्थित कभर्ड हलमा भएको खेलमा तीनै जनाको प्रदर्शन कमजोर रह्यो ।
दिपेश पाकिस्तानका मुरद अलीसँग सोझो सेटमा पराजित भए । दिपेशले २१–१५ र २१–१३ को सोझो सेट मुरदलाई नतिजा सुम्पिएका हुन् ।
त्यस्तै नेपालकी नङ्साल तामाङ भारतकी गायत्री गोपीचन्दसँग सोझो सेटमै पराजित भइन् । नङ्साल गायत्रीसँग २१–९ र २१–१४ को सेटमा पराजित भएकी हुन् । अर्को खेलमा नेपालकी रसिला महर्जन श्रीलंकाकी रत्नासिरी कपुरुसँग २१–१५ र २१–९ को सेटमा पराजित भइन् ।
भारतलाई दुई स्वर्ण
टिम ईभेण्टतर्फ महिला र पुरुष दुवैमा भारतले स्वर्ण पदक जितेको छ । सोमबार राति भएको फाइनलमा भारतले श्रीलंकालाई पराजित गरेको हो । भारतले पुरुषतर्फ ३–१ र महिलातर्फ ३–० को सेटमा जित निकालेको हो ।
रजत पदक विजेता श्रीलंका नेपाललाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो भने स्वर्ण पदक विजेता भारत पाकिस्तानलाई पराजित गर्दै फाइनल पुगेको थियो ।
फाइनलमा टिम ईभेण्ट पुरुषतर्फ सिंगल्समा भारतका श्रीकान्त किदाम्बीले श्रीलंकाका एदिरिमुनि दिनुका निसान पर करुणारत्नेलाई ३–१ को सेटमा पराजित गरे । पहिलो सेट १७–२१ ले गुमाएका श्रीकान्तले बाँकी सेट २१–१५ र २१–११ को स्कोरमा आफ्नो पक्षमा पारेका थिए ।
यस्तै सिंगल्सतर्फ भारतका श्री साई सिरिल वर्मा अलुरीले श्रीलंकाका सचिन प्रेमासन एंगोदा विदांगेलाई २–१ को सेटम पराजित गरे । सचिनले २१–१७ र ११–छ को स्कोरमा सेट गुमाएका हुन् ।
पुरुष डबल्स तर्फ भारतका कृष्ण प्रसाद कपिला र ध्रुव कापिलाको जोडीले श्रीलंकाका ईद्रिमुनि दिनुका निसान पर करुणारत्ने र हासिथा चण्डाका मन्नी हेवाको जोडीलाई २१–१४ र २१–१८ को सेटमा पराजित गरको हो । यद्यपि, श्रीलंकाको उक्त जोडीले एउटा सेट २१–१४ ले आफ्नो पक्षमा पारेपछि हार टार्न सकेन ।
टिम ईभेण्ट महिला तर्फको सिंगल्समा भारतले क्लिन स्विप गर्यो । उसले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । भारतकी अस्मिता चलिथाले श्रीलंकाकी थिलिनी प्रोमादिका हेन्दाहेवालाई २१–१२ र २१–१३ को सेटमा पराजित गरिन् भने, भारतकै आकर्षि कश्यपले श्रीलंकाकी दिल्मी प्रेमशिखा डायसलाई २१–१९ र २१–१० को सेटमा पराजित गरिन् ।
तेस्रो खेलमा भारतकी गायत्री गोपिचन्द पुलेलाले श्रीलंकाकी अचिनि निमेशिका रत्नश्रीलाई २१–१८ र २१–१० को सेटमा पराजित गरिन् । रत्नश्रीले एउटा सेट २१–१३ ले आफ्नो पक्षमा पारेपनि उनले रजत पदकमै चित्त बुझाउनु पर्यो ।
प्रकाशित समय १८:४८ बजे

















