गृहपृष्ठ ललितपुरका २० हजार बालबालिकामा टाइफाइड भ्याक्सिनको प्रभावकारिता परीक्षण सफल
ललितपुरका २० हजार बालबालिकामा टाइफाइड भ्याक्सिनको प्रभावकारिता परीक्षण सफल
ललितपुरका २० हजार बालबालिकामा टाइफाइडको नयाँ भ्याक्सिनको प्रभावकारिता परिक्षण सफल भएको छ । रोयटर्स समाचार संस्था र बीबीसीले नेपालका बालबालिकामा प्रभावकारिता परिक्षण गरिएको र परिणाम सकारात्मक देखिएको जनाएका छन् ।
दुई वर्षअघि (सन् २०१७)बाट यो भ्याक्सिनको ललितपुरका ९ महिनादेखि १६ वर्षबीचका बालबालिकामा प्रभावकारिता परिक्षण थालिएको थियो । ‘टाइफाइड भ्याक्सिन एक्सिलेरेसन कन्सोर्टियम इन नेपाल’ले नेपालमा यो भ्याक्सिनको प्रयोग गरिएको हो ।
कन्सोर्टियमको नेतृत्व गरेकी डा. मिला शाक्यसहितले न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसनमा प्रकाशित गरेको शोधपत्रमा यो भ्याक्सिनको प्रयोग गर्नका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले स्वीकृति दिएको र बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सहयोग गरेको उल्लेख गरिएको छ ।
शोधपत्रअनुसार नेपाली बालबालिकालाई दुई खाले भ्याक्सिनको प्रयोग गरिएको थियो, भारतको हैदाराबादस्थित भारत बायोटेक इन्टरनेसनलले उत्पादन गरेको ‘टाइपबार-टिभिसी’ भ्याक्सिन १० हजार ५ जना बालबालिकालाई लगाइएको थियो भने ‘मेनए भ्याक्सिन’ १० हजार १४ जना बालबालिकालाई लगाइएको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को स्वीकृतिअनुसार विकसित यो भ्याक्सिन ‘अक्सफोर्ड ट्रोपिक रिसर्च इथिक्स कमिटी’ र नेपाल स्वास्थ्य अनुसन्धान परिषदकै स्वीकृतिमा सन् २०१७ मा नेपालमा यो भ्याक्सिनको प्रयोग गरिएको र यसको सकारात्मक नतिजा आएको शोधपत्रमा उल्लेख छ । भ्याक्सिन परिक्षणका लागि वेलकम ट्रस्टले सहयोग गरेको जनाइएको छ ।
ललितपुरका बालबालिकामा भ्याक्सिन लगाउन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकै डाक्टर र स्वास्थ्यकर्मी परिचालित गरिएको थियो । यो भ्याक्सिनको सफलतापछि टाइफाइडको प्रकोपबाट प्रभावित विश्वका १ करोड १० लाखभन्दा बढी जनसंख्यालाई बचाउन सकिने समाचार संस्थाहरूले उल्लेख गरेका छन् । यसअघि टाइफाइडविरुद्ध मुखबाट खुवाउने औषधि प्रयोग गर्ने गरिएकोमा त्यो त्यति प्रभावकारी हुन नसकेपछि खोप विकसित गरिएको हो ।
शोधपत्रअनुसार यो भ्याक्सिन लगाएको अर्को एक वर्षसम्म बालबालिकाहरूलाई टाइफाइड तथा प्रदूषित पानीका कारण फैलने किटाणुजन्य संक्रमणबाट कति समयसम्म बचाउन सक्छ भनेर अनुगमन गरिनेछ ।
नेपालबाहेक बंगलादेश र अफ्रिकामा यो भ्याक्सिनको प्रभावकारिता अध्ययनका लागि थप दुई वर्षे परीक्षण जारी छ । नेपालमा गरिएको परिक्षणअनुसार यो भ्याक्सिनले टाइफाइडजस्ता रोगका संक्रमण भएका क्षेत्रहरूमा खास ‘सेटिङ’मा काम गर्ने नतिजा निकालिएको छ ।
विश्वका विकसित देशमा पनि यस्ता भ्याक्सिनको प्रभावकारिता परिक्षण हुने गरेको पाइएको छ । ‘संसारभरि कायम विधि अनुशरण गर्दै अनुसन्धान गरिएको हो । अन्य कतै सोको सुरक्षासम्बन्धी जाँच भएर यहाँ सुरक्षाका लागि होइन, प्रभावकारिताबारे अनुसन्धान भएको हो,’ डा. सुमन आचार्यले ट्विटरमा भनेका छन् ।
(यसअघि प्रकाशित यसै समाचारमा ‘परिवारलाई थाहै नदिई ललितपुरका बालबालिकामा भ्याक्सिन परिक्षण गरिएको’ र भ्याक्सिनको प्रभावकारिता परिक्षण हुनुपर्नेमा ट्रायल परिक्षण भन्ने गलत तथ्य सम्प्रेषण भएकाले क्षमायाचनासहित सच्याइएको छ । – सम्पादक)
प्रकाशित समय १५:०७ बजे

















