गृहपृष्ठ अर्थमन्त्री भन्छन्- मर्जरको उपादेयता ठूला पूर्वाधारमा लगानी

अर्थमन्त्री भन्छन्- मर्जरको उपादेयता ठूला पूर्वाधारमा लगानी

yubaraj-khatiwada

अर्थमन्त्री डा. युवराज खतिवडाले मर्जरको उपादेयता ठूला पूर्वाधारमा लगानी बढाउनुमा विशेष केन्द्रित रहेको बताएका छन् । ग्लोबल आईएमई बैंकको कर्पोरेट कार्यालय कमलादीमा शुक्रबार एकीकृत कारोबारको शुभारम्भ गर्दै अर्थमन्त्री डा. खतिवडाले भने, ‘एक अर्ब पुँजी भएका वित्तीय संस्थाहरुले उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी परिचालन गर्न नसक्ने भएकाले २०६४-६५ सालदेखि नै स्वेच्छिक मर्जरलाई प्रोत्साहन गरेका हौं, त्यो लक्ष्य विस्तारै पुरा हुँदै छ ।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मुलुकको तीव्र आर्थिक वृद्धिका लागि ठूलो पुँजी प्रवाह गर्नसक्ने वित्तीय संस्था अहिलेको आवश्यकता भएको बताए । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ग्लोबल आइएमई बैंक ठूलो लगानीका लागि सक्षम भएकाले त्यसको लाभ उद्योग व्यवसायीले पाउनुपर्ने स्मरण गराए ।

एकीकृत कारोबार कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकाजी शाक्यले नाफाको ठूलो अंक बैंकसँग मात्र भएकाले उद्योगीले पनि सानो हिस्सा पाउने गरी ब्याजदर कम गर्नतर्फ लाग्नुपर्ने बताए । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बैंकहरुलाई आफूमा गाभ्नमा अग्रणी देखिएको ग्लोबल आइएईलको वित्तीय तथा व्यवस्थापकीय क्षमता वृद्धिको कामना गरे ।

बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंकको लगानी सुरक्षाका लागि राष्ट्र बैंकसँग परामर्शमा रहने जानकारी गराए । त्यस्तै नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले बैंकको जिम्मेवारीसँग ठूला परियोजनामा लगानी गर्न सक्ने क्षमता बढको बताए ।

असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालले पाँच महिनाको छोटो अवधिमा मर्जरका सम्पूर्ण कार्य सम्पन्न गरी शुक्रबारबाट एकीकृत कारोबार थालेका हुन् ।

प्रकाशित समय ११:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु