गृहपृष्ठ नेपाल पहिलोपटक महिला ह्याण्डबलको फाइनलमा

नेपाल पहिलोपटक महिला ह्याण्डबलको फाइनलमा

१३औं एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली महिला ह्याण्डबल टोली पहिलोपटक फाइनलमा पुगेको छ । नेपालले स्वर्ण पदकका लागि आइतबार भारतसँग फाइनल खेल्नेछ ।

शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि कठिन जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । पाकिस्तान विरुद्धको खेलमा २२–२१ अन्तरको गोलको नतिजा निकाल्दा नेपाली टोली भाग्मानी सावित भयो । नेपालका लागि उमा राईले सर्वाधिक ११ गोलको योगदान दिइन् ।

शनिबार नै भएको महिला ह्याण्डबलको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई ४१–१३ गोल अन्तरले हराउँदै फाइनल पुगेको छ ।

पुरुष ह्याण्डबल : भारत र पाकिस्तान फाइनलमा

भारत र पाकिस्तान पुरुष ह्याण्डबलको फाइनलमा प्रवेश गरेको छ । भारतले श्रीलंकालाई र पाकिस्तानले बंगलादेशलाई हराउदै फाइनल पुगेको हो । आइतबार भारत र पाकिस्तान स्वर्णका लागि फाइनल खेल्नेछ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३९–३२ गोलले पाखा लगायो । भारतका लागि दिपक र नविन सिंहले सर्वाधिक समान ७ गोल गरे ।

दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानले बंगलादेशमाथि २७–१७ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको हो ।

कास्य पदकका लागि आइतबार नै श्रीलंका र बंगलादेश खेल्नेछ । सागको ११औं संस्करणदेखि पुरुष ह्याण्डबल खेलले प्रवेश पाएको हो । ११ औं संस्करणमा पाकिस्तान स्वर्ण र भारत रजत पदक विजेता बनेको थियो । १२औं संस्करणमा भने भारत स्वर्ण र पाकिस्तान रजत पदक विजेता हो ।

प्रकाशित समय १८:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु