गृहपृष्ठ महिला ह्याण्डबलमा नेपाल रजतमै सीमित, भारतलाई स्वर्ण
महिला ह्याण्डबलमा नेपाल रजतमै सीमित, भारतलाई स्वर्ण
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत ह्याण्डबलको फाइनलमा नेपाललाई पराजित गर्दै भारतले स्वर्णको रक्षा गरेको छ । नेपाल रजतमै सीमित बन्यो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा आयोजक नेपाललाई ३६-२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।
भारतकै गुहावटीमा भएको १२औं संस्करणको सागमा पनि भारतले ह्याण्डबलमा स्वर्ण जितेको थियो । त्यसबेला नेपाल भने चौथो मात्र भएको थियो । १२औं संस्करणबाटै सागमा महिला ह्याण्डबल समावेश गरिएको हो ।
भारतका लागि मोनिकाले सर्वाधिक १३ गोलको योगदान गरिन् । त्यस्तै, सोनिकाले ११, निधि शर्माले ८ तथा कीपर निना शिल, दीपशिखा र प्रियंका ठाकुरले समान १/१ गोल जोडे ।
घरेलु दर्शकको समर्थन पाएको नेपालका लागि भने बन्दना राईले सर्वाधिक ६ गोलको योगदान दिइन् । कबिता राईले ५ तथा निशा राई र उमा राईले समान ३/३ गोल थपे । रञ्जना राईले २ गोलको योगदान दिइन् । कविता राई र र शान्तिकला राईले समान १/१ गोल थपे ।
बंगलादेशलाई कास्य
महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ । पोखरा रंगशालास्थित कभर्ड हलमा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा पाकिस्ताजमाथि ३१-१५ गोलको नतिजा निकाल्दै बंगलादेशले कास्य पदक जितेको हो ।
गुहावटीमा भएको १२औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२औं सागमा पाकिस्तान कास्य पदक विजेता हो ।
पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण
पुरुष ह्याण्डबलमा पाकिस्तानले स्वर्ण पदक जितेको छ । भारतलाई ३०-२९ गोलले पछि पार्दै पाकिस्तानले स्वर्ण जितेको हो ।
विजेता पाकिस्तानका लागि मोहम्मद मुजामल हुसेनले सर्वाधिक ६ गोलको योगदान दिए । हजरत हुसेनले टोलीका लागि ५ गोल थपे । इमरान खानले ४, तथा असिम सइद र मोहम्मद जुबेरले समान ३/३ गोलको योगदान गरे । नासिर हुसेन र मोहम्मद सहिद बसिरले समान २/२ गोलको थपे । नामिद उर रहमान र असिफ हायातले समान १/१ गोल गरे ।
भारतका नविन सिंहले सर्वाधिक ८ गोलको योगदान दिए । दिपक अहलावत, अंकित र रमेश चन्दले समान ५/५ गोल जोडे । दिनेशले टोलीका लागि ४ गोल जोडे । करमजित सिंह र ह्याप्पीले टोलीका लागि समान १/१ गोल थपे ।
प्रकाशित समय ११:३९ बजे

















