गृहपृष्ठ ‘म पनि टाइमिङमा पुगेँ, ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो’

‘म पनि टाइमिङमा पुगेँ, ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो’

'चलचित्रको नायक'झैँ बनेका सुनिलको वर्णन:

भव्य समारोहका बीच काठमाडौँको दशरथ रङ्गशालामा भएको तेह्रौँँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को अन्तिम खेल फुटबलको पहिलो हाफमा नेपाल र भुटान बराबरीमा अडिएपछि दोस्रो हाफमा मिडफिल्डर सुनिल बलले हेडमार्फत दिलाएको गोल नै स्वर्ण पदकका लागि निर्णायक भयो ।

प्रतिस्पर्धात्मक जस्तै देखिएको खेलको पहिलो हाफ बराबरीमा रोकिएपछि उत्साहका साथ खेल हेर्ने प्यारापिटमा भरिभराउ नेपाली दर्शकले केही नमिठो अनुभव गरेका थिए । दर्शकको तितो अनुभूति केही क्षणमात्रै रह्यो । दोस्रो हाफको ५४ औँ मिनेटमै सुनिलले गोल फर्काएर दर्शकको मुहारमा चमक छरे । डिफेन्डर सुमन अर्यालले दिएको पासलाई सुनिलले हेडमार्फत गोल गर्न सफल भए ।

सुनिलले दायाँ विङ्गबाट आएको क्रसलाई हेडमार्फत गोल गरे । दर्शकमा थप ऊर्जा भरियो । स्वर्ण पदकका लागि त्यही गौल नै निर्णायक बन्योे । राष्ट्रिय झण्डा फहराउँदै दर्शकले नेपाल…नेपाल… भनेर रङशाला गुञ्जाए । भुटानमाथि नेपालले २-१ अन्तरमा जित्दा बीचका केही अवसर भने चुकाएको थियो ।

स्वर्ण दिलाउने महत्वपूर्ण गोल गरेका सुनिल ‘चलचित्रको नायक’झै बने । नचिताएको परिस्थितिमा गोल गरेको अनुभव सुनाउँदै उनले भने, ‘सुमन अर्यालले क्रस गर्‍यो, त्यही मुभमेन्टमा म पनि टाइमिङमा पुगे, ट्राई गर्छु भनेर हानेको गोलमा परिणत भयो ।’ उनले यो खुशी शब्दमा व्यक्त गर्न नसकिने प्रतिक्रिया दिए ।

गोल गरेलगत्तै उनले जर्सी खोले । जर्सी खोल्दा पहेँलो कार्ड दिइन्छ । उनले त्यो खुशीयालीमा आफूले के गरेँ भनेर सोच्नसमेत सकेनन् । उनका अनुसार भुटानसँगको खेलको पहिलो हाफ प्रतिस्पर्धात्मक नै रह्यो । खेल शुरु भएको १६औँ मिनेटमा फरवार्ड अभिषेक रिजालले नेपालका लागि पहिलो गोल गरे । खेलको ३६औँ मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले गोल फर्काएर खेललाई बराबरीमा पर्‍याए । ‘सेकेण्ड हाफमा स्कोरिङ बाहिर निकाल्न सक्यो, त्यसमा पनि म आफैँले गोल गर्न सक्दा अत्यन्तै खुशी छु,’ सुनिलले भने ।

फाइनल पुगेपछि नेपाललाई ठूलो दबाब नभएकाले पनि नेपाली समूह एकदम एकबद्ध भएर खेल्छौँ भन्ने आत्मविश्वास उनको थियो । नभन्दै त्यस्तै भएकाले टिमवर्कले काम गरेको उनी बताउँछन् । ‘गोल गर्दा खुशीको सीमा नै छैन, फुटबललाई माया गरेर धेरै दर्शक आइदिनुभयो, सबैलाई धन्यवाद दिन चाहन्छु, परिवार, साथीभाइ र शुभेच्छुकले गरेर म यहाँ आइपुगेको छु,’ हर्षित हुँदै उनले भने ।

फुटबलमा सङ्घर्षरत सुनिलले साफमा अन्तिम र निर्णायक गोल गरेर नयाँ उचाइ प्राप्त गरे । सामाजिक सञ्जालदेखि समाचारमा सुनिलको नाम अग्रपङ्तिमै छ । सामाजिक सञ्जालबाट सुनिललाई बधाई दिनेको ओइरो नै छ । उनी योसहित दोस्रो गोल्डमेडलिस्ट खेलाडी हो । सन् २०१६ मा भारतको गुवाहटीको खेलमा पनि उनी सहभागी थिए । त्यहाँ पनि नेपालले स्वर्ण जितेको थियो ।

यसपाली होमग्राण्डमा सफल हुनुमा दर्शकको हात रहेको उल्लेख गर्दै भने, ‘हजुरहरुले यति सहयोग गर्नुभयो कि खेलाडीलाई चाहिने शक्ति दिनुभयो, त्यही ऊर्जाले एकदम केही गर्छु र देखाउछु भन्ने लागेको थियो, दर्शकलाई स्वर्ण दिलाएरै छाड्यौँ ।

समूहचरणको खेलमा नेपालसँग भुटान ४-० ले हारेको थियो । एउटा खेल हार्दैमा विपक्षीलाई कहिल्यै कमजोर ठान्न नहुने बताउने सुनिलले पछिल्ला तीन खेलमा भुटानले राम्रो नतिजा ल्याएर जित्दै आइरहेकाले बलियो दाबेदार भएको प्रतिक्रिया दिए । ‘भुटानसँग सहज जितको आशा सोचेका थिएनौँ, प्रतिस्पर्धी नै लिएका थियौँ, खेल त्यस्तै भयो पनि,’ सुनिलले भने ।

लिगमा तीन वर्ष थ्रीस्टार क्लबबाट खेल्नुभएको थियो सुनिल । उनी अहिले च्यासलमा आवद्ध छन् । अब लिग गेम पनि शुरु हुन लागेको छ । नयाँ क्लबमा तालिम राम्रै भइरहेकाले लिगमा राम्रो गर्ने उनको सोच छ । ‘नयाँ क्लबमा च्यालेन्जिङ छ, उत्कृष्ट गर्ने प्रयास गर्छु,’ उनले थपे ।

नेपाली फुटबल टिमका कप्तान सुजल श्रेष्ठले स्वर्ण जितेपछि रासससँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै टिम वर्क नै महत्वपूर्ण कुरा भएको बताए । जितको श्रेय नेपाली दर्शकलाई दिँदै उनले भने, ‘आजको खेलमा बलियो पक्ष घरेलु समर्थक नै हो, अनि टिमवर्कले काम गर्‍यो ।’ उनले पहिले जे जस्तै खेले पनि भुटानलाई बलियो प्रतिस्पर्धीकै रुपमा हेरेको बताए । कुनै पनि खेलका लागि सरकारले ध्यान दिनुपर्नेमा उनको जोड छ ।

नाकमा टेप लगाएरै भएपनि मैदानमा उत्रिएका गोलकिपर विकेश कुथुले दर्शकले गरेर नै स्वर्ण जितेको उल्लेख गर्दै भने, ‘यो मेडल दर्शकका लागि डेडिकेट गर्न चाहन्छु ।’

आज व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिङ्गारिएको रङ्गशालामा खेल भएको थियो नेपालको जितसँगै हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रम, झाँकी तला लाखे नाच प्रस्तुत गरिएको थियो । सबै देशको झण्डा र मस्कटसहित मार्चपासमा सहभागी भएका खेलाडीहरुलाई दर्शकले हात हल्लाएर अभिवादन गरेका थिए ।

खेलाडीले पनि दर्शकलाई अभिभादन फर्काउन भुलेनन् । दर्शसँगै नेपाली खेलाडीले पनि नेपाल… नेपाल… भन्दै हुटिङ गर्न भ्याए । नेपाली दर्शकले भुटान… भुटान… को हुटिङसहित भुटानका खेलाडीलाई पनि सान्त्वना दिए ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु