गृहपृष्ठ काठमाडौंबासीले जनप्रतिनिधिसँग भने- सभ्य समाज निर्माणमा लाग्नुस्
काठमाडौंबासीले जनप्रतिनिधिसँग भने- सभ्य समाज निर्माणमा लाग्नुस्
काठमाडौँ महानगरपालिका वडा नं. ४ ले आयोजना गर्दै आएको ‘जनतासँग जनप्रतिनिधि’को आज छैटौं संस्करण सम्पन्न भएको छ । काठमाडौँको धुम्बाराहीमा भएको कार्यक्रममा जनप्रतिनिधिबीच स्थानीयबासीले विभिन्न समस्या राखेका छन् ।
सामाजिक समस्या, विकास निर्माण तथा रोजगारका पक्षमा समेत जनप्रतिनिधिबीच प्रश्न राखेका छन् । उनीहरुले टोलमा भएको विकृति विसंगतिलाई न्यूनीकरण गर्दै सभ्य समाज निर्माणमा सहयोग पु-याउन जनप्रतिनिधिसँग आग्रह गरे । बसोबास क्षेत्रमा पार्टी प्यालेसबाट निस्केको ध्वनि, फोहोर संकलन केन्द्रलगायत समस्या राखेका छन् ।
स्थानीयको समस्यालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य एवं प्रदेश सांसद नारायण सिलवालले जनताको समस्या तत्काल समाधान गर्न सम्बन्धित पक्षसँग पहल गर्ने बताएका छन् । उनले गुणस्तरीय विकास निर्माणको कार्यलाई तीव्रता दिन आफू पनि क्रियाशील भएर लाग्ने प्रतिबद्धता जनाए ।
बसोबास क्षेत्रमा उद्योग कलकारखाना र पार्टी प्यालेस जस्ता संरचना निर्माण गर्दा विशेष ध्यान पु-याउनुपर्ने उनले स्पष्ट पारे । सांसद सिलवालले अव्यवस्थित बिजुली, नेट इन्टरनेटका तार तत्काल व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।
त्यस्तै प्रदेश सांसद सीता अधिकारी दाहालले वडाको अभियान सकारात्मक सन्देश प्रवाह गर्ने खालको भएको भन्दै प्रशंसा गरिन् । उनले विकास निर्माणले सार्थकता पाइसकेको र त्यसको अनुमोदनका लागि जनतासामु आएको बताइन् । त्यस्तै काठमाडौँ महानगरपालिका ४ का अध्यक्ष मोहन विष्टले आफ्नो वडालाई पार्क हबको रुपमा रुपान्तरण गर्ने बताए । वडाभित्र सातवटा पार्क निर्माण भइसकेका, टुवालदेवी पार्क निर्माणाधीन रहेको र अरु तीनवटा पार्क बन्ने योजना सुनाए ।
प्रकाशित समय १९:३० बजे

















