गृहपृष्ठ एनसीएचएलद्वारा कनेक्ट आरटीजीएस कार्यान्वयन
एनसीएचएलद्वारा कनेक्ट आरटीजीएस कार्यान्वयन
नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनलाई सहयोग गर्दै एनसीएचएलले २४ कमर्सियल बैंकहरुमा कनेक्ट आरटीजीएस प्रणाली जडान गरी सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ । आरटीजीएस प्रणालीमा भुक्तानी कारोबारहरु प्रविष्ट गर्न तथा बैंकको बैंकिङ सिस्टमसँग अटोमेटेड गर्न बैंकहरुले कनेक्ट आरटीजीएसलाई गेटवेको रुपमा प्रयोग गर्नेछन् ।
अधिकांश बैंकले आरटीजीएस कार्यान्वयनका लागि एनसीएचएललाई इन्टिग्रेसन पार्टनरको रुपमा नियुक्त गरेका थिए, जसअन्तर्गत इन्वार्ड, आउटवार्ड र रिपोर्टिङका लागि आवश्यक सिस्टमहरु तथा बैंकहरुलाई स्वसञ्चालनसम्बन्धी सहयोग एनसीएचएलले गरेको छ ।
आरटीजीएस प्रणालीमार्फत ठूलो मूल्य र तत्काल भुक्तानी गर्नुपर्ने कारोबारहरु सदस्य बैंक र वित्तीय संस्थाहरुबीच गरिन्छ । आरटीजीएस प्रणाली सामान्यतः तत्काल फन्ड प्राप्त गर्न र अन्य भुक्तानी प्रणालीको फछ्र्यौटसम्बन्धी जोखिम न्यूनीकरण गर्र्न प्रयोगमा ल्याइने एक राष्ट्रिय भुक्तानी प्रणालीको मेरुदण्डको रुपमा लिइन्छ ।
नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको आरटीजीएस प्रणालीलाई नेपालमा भुक्तानी प्रणाली क्षेत्रका लागि एक महत्वपूर्ण कोसेढुंगाको रुपमा लिइएको छ । आरटीजीएस प्रणाली तथा यसमा गरिने कारोबारको वृद्धिका लागि एनसीएचएलद्वारा प्रदान गरिएको कनेक्ट आरटीजीएस बैंक तथा वित्तीय संस्थाहरुको बैंकिङ प्रणालीसँग इन्टिग्रेट गराई आरटीजीएस प्रणालीमार्फत भुक्तानी कारोबार फछ्र्यौटलाई टेवा पु-याउने विश्वास लिइएको छ ।
एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तीय संस्थाहरु, गैरबैंकिङ सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था, पीएसपी/पीएसओ र अन्य सेवाप्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सञ्चालनमार्फत समग्र बैंकिङ क्षेत्रलाई सहयोग पु-याइरहेको छ । एनसीएचएलको कनेक्ट आरटीजीएस एक थप प्रणाली हो, जसले उद्योगलाई न्यून शुल्कमा सहयोग पु-याउँदै आएको छ ।
एनसीएचएलसँग उपलब्ध भएका पूर्वाधारलाई विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्डहरुको अनुपालनसहित कनेक्ट आरटीजीएस बैंक र वित्तीय संस्थाहरुका लागि न्यून मूल्यमा कार्यान्वयनमा ल्याइएको हो । उक्त प्रणाली पहिलो चरणमा ‘क’ वर्गका बैंकहरुका लागि प्रदान गरिएको छ भने नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपश्चात यसलाई ‘ख’ तथा ‘ग’ वर्गका वित्तीय संस्थालाई पनि उपलब्ध गराइनेछ ।
एनसीएचएलले राष्ट्रिय भुक्तानी प्रणालीहरुमध्ये विद्युतीय चेक क्लियरिङ, अन्तरबैंक भुक्तानी प्रणाली, कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणाली र नेसलन पेमेन्ट्स इन्टरफेस सञ्चालन गर्दै आइरहेको छ, जसअन्तर्गत ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था र २० भन्दा बढी पीएसपी/ पीएसओलगायत गैरबैंकिङ संस्था सदस्य छन् ।
प्रकाशित समय १९:४२ बजे

















