गृहपृष्ठ चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा

chandra dhakal

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन् । बागलुङमा शुक्रबारदेखि सुरु भएको बागलुङ महोत्सवमा बागलुङ उद्योग वाणिज्य संघले वरिष्ठ उपाध्यक्षका लागि गरेको प्रस्ताव ढकालले स्वीकारेका हुन् ।

महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका हैसियतमा सम्बोधन गर्ने क्रममा उनले भने, ‘साथीहरुले महासंघको नेतृत्वमा आउन गर्नुभएको प्रस्ताव मलाई स्वीकार्य छ, उहाँहरुलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।’

आफू महासंघको उपाध्यक्षका साथै एकजना उद्यमीका रुपमा देशका विभिन्न जिल्ला तथा नगरमा विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा जिल्लाका उद्योग वाणिज्य संघहरु एवं स्थानीय उद्यमी साथीहरुले आफूलाई महासंघको नेतृत्वमा आउन विशेष आग्रह गरेको उनले जानकारी गराए । कार्यक्रममा उनले सानो व्यवसायदेखि व्यावसायिक यात्रा सुरु गरेको भन्दै आगामी दिनमा साना तथा मझौला एवं समग्र उद्योगी व्यवसायीको समस्या बुझेर काम गर्ने बताए ।

‘मेरो जीवन पनि तपाईंहरुजस्तै सानोतिनो पसल, उद्यम र सामान्य जागिरबाट सुरु भएको हो,’ उनले भने, ‘त्यसैले साना व्यवसायीको पीरमर्का र अवस्थालाई अरुले भन्दा बढी महसुस गर्न सक्छु ।’ उनले उद्योगी व्यवसायी साथीहरुको आशा र भरोसाको संवाहक बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘तपाईंहरुको मनोबल सधैँ उँचो बनाउने काममा लाग्नेछु र तपाईंहरुको सुखदुःखमा साथमा रहने प्रण गर्दछु,’ उद्यमी ढकालले भने ।

उनले नेपाल सरकारको सम्मृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न तथा सरकारले अघि सार्ने देश विकासका हरेक कार्यक्रममा सघाउन र सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास र सुशासनसहितको जनउत्तरदायी राज्य व्यवस्थामा सघाउन निजी क्षेत्रको अहं भूमिका रहने र यसका लागि आफूले पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । उनले महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका छन् । ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवर्धक हुन् ।

कार्गो व्यवसायबाट व्यावसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एन्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायतका दुई दर्जनभन्दा बढी व्यवसायमा लगानी छ । ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष छन् । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष पनि हुन् । समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य छन् । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत छन् ।

प्रकाशित समय २०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु